
- सुशिला कार्की
दोलखा । वर्षासँगै हिमपात भएपछि दोलखामा पर्यटकको चहलपहल बढेको छ । जिल्लाको कालिन्चोक मन्दिर, शैलुङ्ग , जिरी लगायतका अग्ला अग्ला डाँडाहरुमा गतसाता देखि हिउँ पर्न थालेको छ ।
साधारणतया पुष १५ देखि हिमपात सुरु हुने भएपनि यसपटक चैत लाग्दा सम्म पनि बर्षा नभएको कारणले गर्दा हिमपात भएको थिएन ।
हिमपातसँगै देशका विभिन्न स्थानहरुबाट पर्यटकहरु हिउँ खेल्न आइरहेका छन् । पर्यटकको आवागमनसँगै सुनसान रहेका दोलखाको होटलहरुमा चहलपहल बढेको होटल व्यवसायी शान्त जिरेल बताउँछन् ।
पर्यटकहरु बढेसँगै बैंकको चर्को ब्याज , व्यवसायमा मन्दीले गर्दा चिन्तित अवस्थामा रहेक दोलखाका व्यवसायीहरुलाई केही राहत महसुष गरेका छन् । पर्यटकको चापले गर्दा यहाँका होटलहरुको व्यवसाय केही सुधार भएको व्यवासयीहरु बताउँछन् ।
कालिन्चोक मन्दिरको कुरीलाई अहिले हिउँले ढपक्कै ढाकेको छ । पर्यटकहरु हिउँ खेल्ने, केवलकार चढेर कालिन्चोक भगवती दर्शन गर्न बाक्लो संख्यामा आइरहेका कुरीका होटल सञ्चालक राजु केसी बताउँछन् । काठमाडौबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।
जिल्लाको च्योर्दुङ डाँडा, ठूलोढुङ्गा, काप्ती, हुनुमन्ते, ढुङ्गे, झोर मनगाँउ, पात्ले, खोलाखर्क लगायतका स्थानहरुमा पनि हिमपात भएको स्थानीय बताउँछन् । हिमपात पछि गौरशंकर हिमाल पनि हिउँले ढाकेर मनमोहक देखिएको छ ।
पर्यटकहरु दोलखाका अग्ला डाँडाहरुमा हिउँ खेल्दै गौरीशंकर हिमालको मनमोहक दृश्य हेरेर दंग पर्ने गरेको स्थानिय चन्द्र लामा बताउँछन् ।
हिमपात र वर्षापछि व्यवसायीसँगै कृषकहरु पनि खुसी भएका छन् । लामो समयको खडेरी पश्चातको वर्षाले गहुँबाली, आलुबाली लगायतका खेतीहरुलाई ठुलो फाइदा पुग्ने भएपछि कृषकहरु खुसी भएका हुन् ।