७ चैत्र २०७९, मंगलवार

विराटनगर । धरान उपमहानगरपालिकाका वडा अध्यक्षहरुले नगरप्रमुख (मेयर) हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि पाखुरामा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।

धरानका मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले मेयरको जिम्मेवारी बहन गर्दै पत्र पठाएको विषयमा वडाध्यक्षहरुले आपत्ति जनाउँदै माफी माग्न २४ घण्टे अल्टिमेटम दिए पनि उक्त समयभित्र मेयरले माफी नमागेको भन्दै उनीहरु पाखुरामा कालोपट्टी बाँधेरै विरोधमा उत्रिन बाध्य भएका हुन् ।

मेयर साम्पाङले माफी नमागेकोमा आक्रोशित वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेरै आफ्नो जिम्मेवारी बहन गरेका छन् ।

यता, मेयर साम्पाङले भने आफूलाई वडाध्यक्षहरुले घेराबन्दीमा पार्न खोजेको भन्दै धराने जनतासामू त्यसको जवाफ मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई सिध्याउन समय कटाउने काम भइरहेको भन्दै त्यसप्रति कडा टिप्पणीसमेत गरेका छन् ।

साथै, मंगलबार वडाध्यक्षहरुले धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र सबै शाखालाई त्यसबारे ध्यानाकर्षण विज्ञप्ति बुझाएका छन् । उनीहरुले मेयर साम्पाङ गैरजिम्मेवार भएको भन्दै सामाजिक विकास महाशाखा, सामान्य प्रशासन, स्वास्थ्य, योजना तथा इन्जिनियरिङ, आर्थिक विकास महाशाखा, शिक्षा महाशाखा, वातावरण तथा विपद् व्यवस्थापन, राजस्व परामर्श महाशाखा, नगर प्रहरीलगायतका शाखालाई ध्यानाकर्षण गराएका छन् ।

 

LIVE TV