
बारा । सरकारको सामुदायिक शिक्षामा धेरै लगानी छ । तर, पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन । सरकारी विद्यालयहरु प्रभावकारी, आकर्षक हुनुपर्ने हो । राज्यले त्यतीका लगानी गर्ने शिक्षक र विद्यालयले पठन पद्धतीदेखि कक्षा कोठासम्मको सुधार गर्नुपर्ने हो । तर त्यसो भएको छैन ।
सरकारी विद्यालय केवल कर्मकाण्ड पुरा गर्ने थलोजस्तो मात्र भएको छ । त्यही कारण अहिले धेरैजसो सरकारी विद्यालयमा विद्यार्थीको चहलपहल घट्दैछ । १० वर्षअघिसम्म पाँच सय बढी विद्यार्थी पढ्ने विद्यालयमा अहिले मुस्किलले एक सय विद्यार्थी छन् । तीमध्ये पनि कतिपय विद्यार्थी नियमित आउँदैनन् । तर, बारा निजगढको एक समुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि ठिकठाक छ । तर स्थानीय राजनीतिक खिचातानीका कारण बेहाल बन्दै गएको छ ।
स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय २०७९ भदौ देखि प्रधानाध्यापकविहीन अवस्थामा संचालन हुँदै आएको छ । प्रधानाध्यापकको नहुँदा निम्न माध्यमिक तहका शिक्षक विरेन्द्र चौधरीले निमित्त प्रअको जिम्मेवारी लिएर काम गर्दै आएका छन् ।
विद्यालयमा रिक्त प्रधानाध्यापकको पदपुर्ति नहुँदा पठनपाठनसंगै विद्यालयको प्रशासन समेत प्रभावित बनेको छ । करिब ७ सय ५० विद्यार्थी र २३ जना सरकारी र निजी स्रोत शिक्षक, कर्मचारी रहेको सो विद्यालयमा करिव ४ वटा शिक्षक पद रिक्त रहेको छ । जसको कारण प्रत्यक्ष मारमा विद्यार्थी र अभिभावक परेका छन् । शिक्षकको अभाव हुँदा दैनिक ३ देखि ४ वटा घण्टी खालीसमेत हुने गरेको पाइएको छ ।
२०७९ मंसिर २७ गते जिल्ला शिक्षा समन्वयन ईकाई बाराको सिफारिसमा निजगढ नगरपालिकाको शिक्षा शाखाबाट २०७९ पुस १७ गते खटाइएकी माध्यमिक तहकी शिक्षिका अम्बिका लुइँटेललाई विद्यालय व्यवस्थापन समितिले हाजिर नगराएपछि विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्ने विषयमा अन्यौल बढेर गएको छ । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आएकी शिक्षिका लुइँटेललाई शिक्षा समन्वय ईकाईको सिफारिसमा नगरपालिकाको शिक्षा शाखाले ६ महिना परीक्षणकाल रहने गरि विद्यालयमा हाजिर हुन पठाएको थियो । तर व्यवस्थापन समितिले शिक्षिका लुइँटेललाई हाजिर गराउन नमानेपछि अन्यौलता बढेर गएको छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा हाजिर नगराएपछि शिक्षिका हाल निजगढ नगरपालिकामा हाजिर गर्दै आएकी छन् ।
विद्यालयमा गणित र विज्ञान विषय शिक्षक आवश्यक रहेको तर शिक्षिका लुइटेल अंग्रेजी विषयको शिक्षक भएको भन्दै समितिले उनलाई हाजिर गराउन इन्कार गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योञ्जनले नगरपालिकाले पठाएको शिक्षक विद्यालयको आवश्यकताविपरीत भएकोले हाजिर गराउन नसकिएको बताएका छन् । यता निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेका अनुसार विद्यालयमा शिक्षिकालाई हजार गराउन आफू लागि परिरहेको र केही दिनभित्रै पदस्थापना गराउने बताउँछन् ।
जिल्ला शिक्षा समन्वयन इकाईको पत्र अनुसार ०७८/०७९ मा रिक्त दरबन्दीको सूचिमा सिंगौलको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय परेको छैन । तर विद्यालयका तत्कालिन प्रधानाध्यापक श्यामकुमार शर्माले अनिर्वाय अवकास लिएपछि रिक्त दरबन्दीमा शिक्षिका लुइँटेलको पदस्थापना गरिएको हो । व्यवस्थापन समिति र वडा अध्यक्षले रुचाएको व्यक्ति नपरेकाले लुइँटेललाई हाजिर नगराइएको स्थानीयहरुले आरोप लगाएका छन् ।
वडा अध्यक्ष मंगल लोप्चन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर योज्जनसँग पटक–पटक भेटर प्रतिक्रिया लिन खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् । विद्यालयमा यसअघि देखि नै शिक्षक पदपूर्ति गर्दा राजनीतिक दलहरुले आफूनिकटको व्यक्तिलाई हेर्ने र आर्थिक लेनदेनको आधारमा नियुक्ति हुने गरेको पनि बताइएको छ ।