
काठमाडौं । अस्पतालको सेवा चुस्तदुरुस्त बनाउका लागी पर्याप्त स्र्रोत साधनका साथै जनशक्तिको पनि उत्तिकै खाँचो हुन्छ । तर, नेपालको हकमा भने सबै क्षेत्रका अस्पतालमा न त आत्याधुनिक स्रोत साधन प¥र्याप्त छ, न त स्वास्थ्यकर्मी नै ।
जनसंख्याको अनुपातमा नेपालमा स्वास्थ्यकर्मीको अभाव छ । यसले मुलुकको स्वास्थ्य क्षेत्र नै धरासयी हुने त होइन भन्ने चिन्ता बढाउदै लगेको छ ।
नेपालका अधिकांश नीजि तथा सरकारी अस्पतालमा मापदण्ड अनुसारका सेवा सुविधाका साथै दरबन्दी अनुसार स्वास्थ्यकर्मी भेटिन मुस्किल छ । राजधानीका अस्पतालदेखि ग्रामीण भेगका अधिकांश अस्पतालले दरबन्दी पूर्ति गर्न सकेको छैनन।
सेवाग्राहिको चाप अनुसार स्वास्थ्यकर्मी अभाव हुँदा बिरामी गुणस्तरीय सेवा पाउनबाट बञ्चित हुने गरेका छन् । नेपालमा भएका स्वास्थ्यकर्मी नेपालको जानसंख्याको हिसाबले अत्यन्तै न्यून रहेको भन्ने विषयमा बहस चलिरहँदा विश्व स्वास्थ्य संगठनले नेपाललाई स्वास्थ्यकर्मी अभाव भएको देशको सूचिमा राखेको छ ।
डब्लुएचओले हालै प्रकाशित गरेको ‘डब्लुएचओ हेल्थ वर्कफोर्स सपोर्ट एन्ड सेफगार्ड्स लिस्ट २०२३’ प्रतिवेदनमा स्वास्थ्यकर्मी अभाव भएका एसियाली तीन राष्ट्र मध्ये नेपाल दोस्र्रो नम्बरमा परेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपालमात्र नभएर बंगलादेश, पाकिस्तानलगायत अन्य ५५ देशमा चिकित्सक, नर्स र मिडवाइफजस्ता स्वास्थ्यकर्मीको चरम अभाव रहेको उल्लेख गरेको छ ।
यी मध्ये सबैभन्दा धेरै ३७ अफ्रिकी देश रहेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रति १० हजार जनसंख्यामा ४९ जना स्वास्थ्यकर्मी (डाक्टर, नर्स र मिडवाइफ) आवश्यक पर्ने हुन्छ । तर नेपालमा स्वास्थ्यकर्मीको संख्या निकै न्यून छ । अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा अस्पताल पुगेका विरामीले सेवा लिन निकै संर्घष गर्नू परेको छ ।
मेडिकल काउन्सिलको तथ्यांकअनुसार अहिले नेपालमा १० हजार ८० जना विशेषज्ञ चिकित्सक दर्ता भएका छन् ।
नेपालमा चिकित्सक, नर्स र मिडवाइफ गरी एक लाख ५५ हजार एक सय ७७ स्वास्थ्यकर्मी भए पनि तीन करोड जनसंख्याको आधारमा यो संख्या निकै न्यून रहेको डब्लुएचओको भनाइ छ । कतिपय दर्ता भएका स्वास्थ्यकर्मी विदेशमा रहेको त कतिपय कार्यरत नरहेकाले नेपालमा स्वास्थ्यकर्मीको संख्या अझै कम हुन सक्ने काउन्सिलको दाबी छ ।
अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा सेवा प्रवाहमा कठिनाइ भएको स्वास्थ्यकर्मीको अनुभव छ । उपत्यकाका केहि अस्पतालमा स्वास्थ्यकर्मी र सेवाको गुणस्तर सन्तोषजनक भएपनि ग्रामिण क्षेत्रमा अझै सेवा विस्तार हुन सकेको छैन ।
सेवा–सुविधाका लागि बिदेशिनेको स्वास्थ्यकर्मीको संख्या उच्च रहेकाले नेपालमा स्वास्थ्यकर्मीको आपूर्ति अपेक्षित हुन नसकेको अध्ययनले देखाएको छ । त्यसैले नागरीकको स्वास्थ्यमा समान पहुँच बनाउन सरकारको तदारुकता हुनुपर्नेमा जानकारले जोड दिएका छन् ।
हाल विश्वभर ६ करोड ५० लाखभन्दा बढी स्वास्थ्यकर्मी रहेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । सन् २०३० सम्ममा यो संख्या बढाएर आठ करोड चार लाख पु-याउने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रमा दखापरेका अभावका बिच सन् २०३० सम्ममा लक्ष्य पुरा नगरे दिगो विकासको लक्ष्य अपुरौ रहने देखिन्छ ।