
- त्रिगुणा भट्टराइ
काठमाडौं । रेविज प्रणघातक रोग हो । नेपालमा रेविज संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा छ ।
तथ्यांक हेर्ने हो भने नेपालमा रेविजकै कारण एक वर्षमा एक सय जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । यो संख्या हरेक वर्ष बढ्दो क्रममा छ ।
रेविज संक्रमित जनावरले टोक्दा यो रोग मानिसमा सर्छ । यसविरुद्धको खोप तत्काल लगाए ज्यान जोगिन्छ तर पनि यसबारे अझै सचेतनाको अभाव भने देखिन्छ ।
रेविज जनावारहरुबाट मानिसमा सर्ने विषाणुबाट लाग्ने रोग हो । यो रोग रेविजको भाइरस भएका कुकुर, विरालो, बादर, ब्वासो स्याल जस्ता घरपालुवा तथा जंगली जनावारको टोकाइबाट सर्ने गर्छ ।
नेपालमा ९९ प्रतिशत रेबिजका घटना घरपालुवा जनावर कुकुरको टोकाइका कारण हुने गरेका छन् । हुनत, कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन, तर रेविज भाइरस भएको कुकुरको टोकाइबाट भने यो रोग सजिलै सर्छ ।
यदि कुकुरले टोकेको अवस्थामा रेबिज खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । तर खोप लगाएन र रेविजको भाइरस शरीर भित्र प्रवेश गरीसकेको छ भने मानिसको मृत्यु निश्चित छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा पछिल्लो समय कुकुरले टोकेको भन्दै रेविज भ्याक्सिन लगाउन आउनेको संख्या बढेको देखिन्छ । हाल अस्पतालमा दैनिक ४ सयको हाराहारीमा रेविजको भ्याक्सिन लगाउने गरेको अस्पतालको तथ्यांकमा छ । तर कुकुरले टोकेर समयमै रेबिजविरुद्धको खोप नलगाउँदा रेविजका कारण करिब १० महिनाको अवधिमा टेकु अस्पताल पुगका १८ जनाको ज्यान गएको तथ्यांक छ । साथै देशभर रेबिजका कारण १ सय भन्दा बढिले ज्यान गुमाउने गरेका छन् ।
रेविज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार संभव छैन् । यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख र मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्न वाहेक अरु केहि सकिदैन । रेविजको लक्षण देखिसकेपछि मानिसको मृत्यु सतप्रतिशत निश्चित छ ।
त्यसैले कुनै पनि घरपालुवा तथा जगंली जनावरले टोकेको अवस्थामा खोप लगाउनुको विकल्प हुँदैन । त्यसैले बाटो वा घरका कुकुर विरालोले तथा जंगली जनावर मुसा, बादर ब्वासो, स्याल जस्ता जनावरले टोकेको अवस्थामा ढिला नगरी रेबिजविरुद्धको खोप लगाउनै पर्छ ।