५ चैत्र २०७९, आईतवार
  • मुस्कान श्रेष्ठ

वीरगञ्ज (पर्सा) । विश्वकप लिग–२ अन्तर्गत नेपाललाई क्वालिफायरमा पुर्याउन महतवपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

आज (आइतबार) वीरगञ्ज महानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाली क्रिकेट टोलीका आशिफ शेख र आरिफ शेखलाई महानगरका नगर प्रमुख राजेशमान सिंहले स्वागत गर्दै सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले आईसीसी विश्वपक लिग-२ मा नेपाललाई विजय गराउन वीरगञ्जका दुवै खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यूएईसँग कडा प्रतिस्पर्धामा अलिकति पनि विचलित नभइ नेपाललाई ऐतिहासिक जित हासिल गराउन सफल भएको भन्दै वीरगञ्जवासी गौरवान्वित भएको बताए । उनले आगामी दिनहरुमा वीरगञ्जवासीले आफ्ना खेलाडीहरुलाई पहिलो स्थानमा रहेको हेर्न चाहेको पनि बताए ।

नगरप्रमुख सिंहले आगामी चैत्र १७ गते हुने नागरिक अभिनन्दन समारोहमा वीरगञ्जका शेखद्वयलाई उपहारस्वरुप यमाहा एफजेड – एफवान मोटरसाइकल प्रदान गर्ने घोषणा गरे । उनले भव्य रुपमा हुने कार्याक्रममा उपस्थित भई खेलाडीको हौसला बढाइदिन सबैलजाई आग्रह गरे ।

यस्तै नेपाली क्रिकेट टोलीका आरिफ शेखले कीर्तिपुरमा भएको खेल हेर्न पुगेका हजारौँ क्रिकेट प्रेमीको घुइँचोले आफूहरुलाई थप उत्साहित र जिम्मेवार बनाएको बताए । उनले आफूहरुलाई लक्ष्य हासिल गर्न चुनौती रहेपनि क्रिकेट टिमका कोच मोन्टी देशाईको साथ र दर्शकहरुको उपस्थितिले सम्भव भएको बताए ।

यस्तै आशिफ शेखले सुरुवाती प्रदर्शन राम्रो नरहेपनि पछिल्लो समय ब्याट्सम्यानको मेहेनत र राम्रो साझेदारीका कारण लक्ष्य प्राप्त गर्न सफल भएको बताए । उनले हालसम्म सीमित श्रोतहरुबाटै आफूहरुले अभ्यास गर्दै आएको बताउँदै उच्च स्तरमा प्रतिषपर्धा गर्नका लागि थप श्रोतहरुको आवश्यक रहेको बताए । उनले भेटघाटको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गुणनस्तीय रंगशालालगायत आश्वयक श्रोत उपलब्ध गराउने आश्वासन दिएको बताए ।

कार्याक्रममा शेखद्वयका पिता शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई समेत सम्मान गरिएको थियो ।

LIVE TV