५ चैत्र २०७९, आईतवार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेका हुन्।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसैगरी, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई अघिल्लो बैठकमा गणपूरक सङ्ख्या नपुग्दा निर्णयार्थ प्रस्तुत गरिएको थिएन ।

बैठकको अन्त्यमा सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारीसमेत गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते सोमबार दिनको १ बजे बस्नेछ ।

LIVE TV