
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । रास्वपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रो पटक विश्वासको मत लिँदै छन् । एमालेसहितका तत्त्कालीन गठबन्धन टुटेपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिने तयारी गरेका हुन् ।
१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा, राप्रपासहितका दलहरुको समर्थनमा प्रधानमन्त्री दाबी गरेका थिए ।
त्यसपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।
प्रचण्ड नेतृत्वकै सरकारमा समेत सामेल भइसकेको रास्वापाले पुन: विश्वासको मत दिने तयारी गरेको हो ।