४ चैत्र २०७९, शनिबार
  • जीना श्रेष्ठ

विश्व विशाल छ। यो दिनप्रतिदिन बदलिरहेको छ। परिवर्तनशील विश्वसँगको घनिष्टता यात्राले बढाउँछ। जीवनमा जति यात्रा गरिन्छ, त्यति नै नयाँ अनुभव बटुल्ने मौका पाइन्छ। यात्राले जीवनमा खुसीको बहार ल्याउँछ। मलाई नयाँ-नयाँ ठाउँ घुम्ने अत्यन्तै रहर हुन्छ। चरा हुन पाए पनि हुन्थ्यो जस्तो लाग्छ। गुँड सार्दै सार्दै सिंगो संसार टहल्नुमा कति आनन्द आउँथ्यो होला ?

विद्यार्थी जीवनमा देशविदेशका विभिन्न स्थानमा गरिने भ्रमणबाट नयाँ-नयाँ अनुभव तथा ज्ञानको विस्तार हुने कुरा यस पटक हामीले भारतको यात्राबाट अनुभूत गर्‍यौँ। यस्ता यात्राले जीवनलाई उर्जा प्रदान गर्नुका साथै नवीन सोचको पनि विकास गराउने रहेछन्।

बृहस्पति विद्यासदन, नक्सालमा कक्षा १२ मा अध्ययन गर्ने हामी विद्यार्थीहरु हाम्रो विद्यालयका प्लस टु व्यवस्थापन प्रमुख सुरेश काफ्ले तथा मनिष केसी सरको कुशल नेतृत्वमा केही समयअघि भारतको १० दिने यात्राका लागि निस्किने योजना बनाएका थियौँ। भारत एउटा सुन्दर पर्यटकीय मुलुक भएकाले यहाँका मुख्य मुख्य सहरको यात्रा तय गर्दा हामी निकै उत्साहित थियौँ।

यात्रा सुरू हुने दिन हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै पुग्नु थियो। त्यसैले हामी सबै तयारीसहित समयमै बाटो लाग्यौँ। त्यो उडान काठमाडौँदेखि मुम्बईसम्म करिब ३ घण्टाको थियो। फोटो खिचेपछि टिकट चेकजाँचको लागि हाम्रो टोली अघि बढ्यो। टिकटअनुसार उडानको समय १-५५ बजे थियो। टिकट चेकजाँच लगायतका सबै प्रकृया पुरा गरी हामी विमानमा चढ्यौँ र यसरी हाम्रो रोमाञ्चक भारत यात्रा सुरु भयो।

हवाई यात्रा सुरु गरेको करिब ३ घण्टापछि मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यौँ। त्यहाँ पुग्दा रात परिसकेकाले हामीले होटेलमै चेकिङ गरेर गाइडसँग भेट गर्यौं। हाम्रो लागि बस्ने व्यवस्था विमानस्थलबाट ३० मिनेटको दुरीमा रहेको अँधेरी भन्ने ठाउँमा अवस्थित गोल्डेन टुलिप नामको होटेलमा गरिएको थियो। त्यस ठाउँमा धेरै चहलपहल भएकाले हामीहरु त्यहाँ रमाउन र नयाँ कुरा हेर्न खोजिरहेका थियौँ। विभिन्न किसिमका भाषा बोल्ने मानिस त्यहाँ भेटिन्थे।

भारतमा पाइला टेकेपछि त्यहाँका विशेष पर्यटकीय ठाउँ घुमेर नयाँ अनुभव बटुल्ने हुटहुटी हामीमा थियो। त्यसपछि जुहु बिच जाने विचार गरेर त्यसतर्फ लाग्यौँ। जुहु बिच पुग्दा समुद्रका लहर र त्यहाँको स्वच्छ, कञ्चन हावापानीले सबै थकान मेटाइदियो। सामुद्रिक लहरहरुमा हाम्रा मनहरु तैरिन थाले। एउटा नीलो विशाल समुद्रको तटमा उभिएर परपरसम्म आँखा नथाकुञ्जेलसम्म हेरिरहेँ। भारतका स्थानीय मानिसहरुले कतै खानेकुरा बेचेको, कतै नाचगान लगायतका अनेक कला प्रदर्शन गरेको देख्दा असाध्यै मन छोएको थियो। त्यसदिन रात छिप्पिसकेकोले त्यहाँबाट होटल फर्कियौँ।

अर्को दिन बिहान ७ बजेको रेल समातेर मुम्बईदेखि गोवासम्म जाने योजना थियो। त्यहीअनुसार हाम्रो रेलको यात्रा सुरु भयो। गर्मी भने असाध्यै थियो। आ(आफ्नो क्याबिनतिर लागेपछि बाहिर देखिने सुन्दर दृश्यलाई हेरेर म रमाइरहेकी थिएँ। रेलमा केही विद्यार्थी थिए भने केही अन्य पर्यटकहरु थिए। यही यात्रा गर्न क्रममा एउटा अनौठो घटना घट्यो। रेलमा चढ्ने बेला एउटा साथी छुटेको भएर एउटा साथीले रेलको आपतकालीन चेन तानिदियो। यस कार्यले हामीलाई ठूलो समस्या ल्याउन सक्थ्यो तर हाम्रो व्यवस्थापन पक्षले यसको समाधान गर्‍यो।

मुम्बईबाट गोवा पुग्न र त्यहाँको रेल स्टेसनबाट होटल पुग्नका लागि निकै समय लाग्ने रहेछ। त्यो यात्रामा हामी बसमा नाँच्दै गाउँदै अगाडि बढ्यौँ। गोवा पुग्नासाथ हामी होटल नजिकै रहेको कोल्वा बिच घुम्न निस्कियौँ। समुद्री तटमा अवस्थित भएकाले गोवा अत्यन्तै सुन्दर छ भनेर सुन्दै आएको कुरा आज त्यहाँ आफ्नै आँखाले नियाल्न पाउँदा स्वर्गीय अनुभूति भयो। धेरैका लागि यो नयाँ अनुभव थियो।

रातीको समयमा समुद्रका लहरहरुबाट आउने त्यो सङ्गीतमय आवाज र सिरसिर हावाले दिउँसोभरिको हाम्रो थकान दूर गराइदियो। रातीको समय भएर पनि होला विचित्रजस्तै लाग्ने त्यहाँको माहोलमा रम्न पाउँदा मनमा शान्ति तथा आनन्द महसुस हुन्थ्यो। करिब १० बजेतिर बिच नजिक रहेको ढावामा गएर स्थानीय परिकार खायौँ र होटल फर्केर आराम गरी सुत्यौँ।

अर्को दिन सबैजना गोवामा रहेका विभिन्न रोमाञ्चक ठाउँहरुको अवलोकन गर्न गयौँ। सुरुमा हामीलाई बोम जेसस बेसिलिकाु नामक चर्चमा लगिएको थियो। पहिलोचोटि चर्च गएर होला मलाई त्यहाँ निकै शान्ति महसुस भएको थियो। त्यहाँ पुग्दा एउटा बेग्लै संसारमा पुगेको अनुभव हुँदो रहेछ। यस्तो सुन्दर अनुभव त भयो तर त्यहाँ भित्र फोटो खिच्न मनाही रहेछ। आफ्नो फोनमा यस्तो सुन्दर कुरा कैद गर्न नपाएपछि हामी मिरुल नदीमा डल्फिनहरु हेर्न गयौँ। नदीको परपरसम्म डुङ्गामा गइयो र डल्फिनलाई नजिकबाट नियाल्न पाइयो।

बोम जेसस बेसिलिका भारतको गोवा राज्यमा स्थित एक प्रमुख चर्च रहेछ। यो चर्चा पुरातात्विक एवम् धार्मिक दृष्टिले विश्वभरिका पर्यटकहरुको आकर्षण केन्द्र रहेछ। यो चर्च मुख्यतः रोमन क्याथोलिक सम्प्रदायको धर्मक्षेत्र मानिने रहेछ। यसको निर्माण सन् १५९४ इस्वीमा भएको हो। यो चर्चको नाम जेससको नामबाट रखिएको हो। यो चर्च गोवाको सम्प्रदायको ऐतिहासिक गुरुलाई समर्पित गरिएको रहेछ। यो चर्च रोमन क्याथोलिक सम्प्रदायको सबैभन्दा ठूलो स्मारक मानिन्छ।

यस चर्चमा घुम्न जाँदाको अनुभव भारत भ्रमणको सबैभन्दा रमणीय रह्यो। आफू नेवार संस्कृतिमा हुर्किएको मान्छे म। हाम्रो संस्कृतिभित्रका विभिन्न जात्राहरुमा रमाएको अनुभव मसँग थियो। यहाँ देखिएको संस्कृति अलि पृथक् लाग्यो। क्रिस्चियन धर्म मान्नेहरुले रातो भड्किलो पहिरन नलगाई सेतो साधारण रङको लुगा लगाएको देख्दा मलाई अनौठो लाग्यो। सधैँ टीका लगाइरहने हामी त्यहाँ भने कसैको निधारमा टीका नदेख्दा मनमा एउटा बहुजातीय भावना आयो। त्यहाँको भ्रमणले हामीलाई फरक संस्कृतिको अनुभव गरायो।

त्यसपछि हामी गोवाको एकदम चर्चित बागा बीचमा गयौँ र त्यहाँ हामीहरुले सामुद्रिक रमाइला क्रियाकलापहरु गर्‍यौँ। तर कसैले भने त्यो सामुद्रिक बालुवामै रमाइलो गरे। हामीले त्यही बिच नजिक भएको होटेलमा खाजा खाई भ्रमणलाई अगाडि बढायौँ।

त्यसपछि हामीलाई क्रुजको लागि लगिएको थियो। यो क्रुज मादोवी नदीमा रहेको थियो। त्यस क्रुजमा हामी नाँच्दै गाउँदै रमाइलो गर्दै गयौँ। नेपालीहरु धेरै जना भएकाले हामीले डिजेलाई नेपाली गीत बजाइदिन अनुरोध गर्‍यौँ। त्यहाँ नाँच्नुभन्दा अगाडि एउटा स्वागत नृत्यले हाम्रो भव्य स्वागत गरियो।

अर्को दिन गोवामा स्वतन्त्र ढङ्गले खुल्ला रुपमा यात्राको आनन्द लियौँ। त्यही स्थानीय परिकारका खाना खायौँ। होटलमा पौडी खेल्यौँ। क्लवको पनि रमाइले अनुभव गरेर हामी करिब तीन चार बजेतिर होटल फर्कियौँ।

अरू दिनजस्तो रमणीय थिएन त्यो दिन। ८ बजेदेखि १०-११ घण्टा लगातार सिधै ट्रेनमा मुम्बईको यात्रा गर्‍यौँ। ट्रेनमा लामो यात्रा गर्नुको बेग्लै अनुभूति हुँदोरहेछ। मुम्बई फर्किएपछि हामीलाई एउटा बेग्लै होटलमा बस्ने व्यवस्था मिलाइएको थियो। ट्रेनको थकानले गर्दा ‍सबै जना होटल पुग्दासम्म लखतरान भइसकेका थियौँ।

अर्को दिन हामीलाई एउटा ठूलो वाटर किङ्गडम भन्ने ठाउँमा लगिएको थियो। त्यो ठाउँ त बेग्लै टापुजस्तै विचित्रको रहेछ। हामीहरु एउटा डुङ्गामा चढेर त्यस ठाउँमा पुग्यौँ। त्यो टापुजस्तो ठाउँ हेर्दा सानो देखिए पनि वास्तवमा एकदमै ठूलो रहेछ। त्यहाँ पानीमा हुने विभिन्न रमाइला क्रियाकलापहरु गरी हामीलाई दिल्ली जाने ट्रेनमा चढ्नु थियो। हामीले त्यहाँबाट किङ्गडममा गरेको रमाइलोलाई मनमा साँचेर ट्रेनमा चढ्यौँ र दिल्लीको यात्रा सुरु गर्‍यौँ।

दिल्ली पुग्नासाथ खाना खाएर आराम गर्‍यौँ। त्यहाँ विभिन्न खानेकुरा चाट, डोसा, पानीपुरी, समोसा, लड्डु खाएर लोकल बजार घुम्न गयौँ। त्यहाँ त चोर बजार भनिने एउटा प्रसिद्ध बजार पनि रहेछ।

भारतको यात्रालाई अविस्मरणीय बनाउनका लागि हामीलाई अर्को दिन लगियो कुतुब मीनार। निकै सुन्दर थियो यो ठाउँ। नेपालको धरहराजस्तै भारतमा कुतुब मीनार प्रसिद्ध रहेछ। यो अतुलनीय टावर देखेपछि हामी लोटस प्यालेस गयौँ। त्यहाँको चित्रकला, वास्तुकला र संस्कृति मन छुने किसिमको थियो। भारतको संस्कृति संसारमै सबैभन्दा पुरानो र भिन्न किसिमको भएकाले त्यो सङ्ग्रहालय पनि सुन्दरताले भरिपूर्ण थियो।

कुतुब मीनार नामक यो स्तम्भ दिल्ली सल्तनतकालीन सल्तन शम्सुद्दीन इल्तुतमिशद्वारा निर्मित गरिएको रहेछ। यो स्तम्भ उच्चतम एकल स्तम्भ रहेछ भने यसको उचाई ७३ मिटर रहेछ। यो स्तम्भ समुद्रतलबाट २४५ फिट उचाईमा रहेको छ। यो स्तम्भमा शिलाकलाकृति र अन्य शैलीहरुको विविधताले लोकप्रिय छ।

यहाँको यादगार यात्रा पूरा गरेपछि हामी ‘स्टारबक्स’तिर लाग्यौँ। यस्तो खालको कम्पनी नेपालमा नभएकाले त्यसको छुट्टै महत्त्व थियो। नेपालमा नदेखेका, प्राप्त नहुने भिन्न भिन्न परिकार तथा फरक स्वादका यस्ता चिजबिचले हामीलाई आकर्षित गर्दथ्यो। यदि भारत भ्रमण गर्न जाने हो भने बडापाउचाहिँ खानुपर्छ।

घुमीफिरी हामी सपिङ गर्नका लागि दिल्लीका स्थानीय बासिन्दाहरुका बीचमा लोकप्रिय रहेको सरोजिनी मार्केट पुग्यौँ। भीडभाडका बाबजुद पनि हामीले भारत भ्रमणको चिनोस्वरुप केही किनमेल गर्‍यौँ र त्यही किनमेलसँगै हामी हाम्रो यात्राको अन्तिम विन्दुमा पुगिसकेका थियौँ। त्यसलगत्तै साँझको ७ बजे हामी दिल्लीदेखि गोरखपुरसम्म जाने ट्रेनमा चढ्यौँ। गोरखपुर पुगेपश्चात् हामी नेपाल-भारतको सीमासम्म भारतको स्थानीय बसमा चढ्यौँ। त्यहाँबाट भारतको मिठो सम्झना मनमा साँचेर काठमाडौँतर्फ लाग्यौँ।

दिल्ली, मुम्बई र गोवा बेग्लाबेग्लै अनुभव दिने भारतका विशाल सहर हुन्। आधुनिक विकासको लक्ष्य लिएर हिँडेको भारतलाई चिनाउने तथा विश्वभरिका पर्यटक लोभ्याउन रमणीय सहर पनि हुन्। यहाँको विकास निर्माण, पर्टकीय स्थल, विविधतामय समाज, यहाँको जीवनशैली, भाषासाहित्य, कला-संस्कृति, जीवनदर्शनको धेरै विशेषता भएकाले नयाँ ज्ञान तथा अनुभव यहाँबाट प्राप्त गर्न सकिन्छ।

जीवनमा गरिने यस्ता भ्रमणले हामीभित्रको अनुभव तथा चेतनालाई सकारात्मक असर गर्दो रहेछ। भ्रमण गर्दा हामीलाई विभिन्न ठाउँको भूगोलका बारेमा मात्र जानकारी नभई त्यहाँका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक विशेषताको बारेमा पनि ज्ञान हुँदो रहेछ। यसरी गरिएको भारतको भ्रमणबाट त्यहाँको खानपिन, स्थानीय संस्कृति, वातावरण, हावापानी, वेशभूषा, भाषादेखि त्यहाँको विकास निर्माण, अर्थतन्त्र, वैज्ञानिक चमत्कार र अन्य चहलपहलको अनुभव गर्न पाएकोमा आनन्द महसुस भयो।

(लेखिका बृहस्पति विद्यासदन नक्साल, काठमाडौँमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन्)

 

LIVE TV