४ चैत्र २०७९, शनिबार

काठमाडाैंँ । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिनु भएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ ।

शुक्रबार (चैत्र ३ गते) नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति तथ्यहिन भएकाले त्यसको पुष्टि गर्न वा फिर्ता लिन महासंघका  महासचिव रोशन पुरीले माग गरेका छन् ।

सभामुख घिमिरेले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहिन, तथ्यहिन र अशोभनीय कुरा  गरेकाले महासंघले त्यसको विरोध गर्नुपरेको उनले बताए ।

‘उहाँ (सभामुख) सँग हाम्रो कुनै माग पनि थिएन, ध्यानाकर्षण पनि थिएन । उहाँलाई बधाई दिने कार्यक्रम मात्रै थियो,’ पुरीले भने, ‘त्यसक्रममा सम्माननीय सभामुखज्यूले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप लगाउनु भयो । आधारहिन, तर्कहिन कुराहरु गरेर उहाँले सबै पत्रकारहरु विक्रीमा छन् । मिडिया हाउसहरुले यो विभिन्न प्रकारका धन्दा गरेका छन । संघ पनि विक्रीमा छ लगायतका यावत कुराहरु जुन भिडियोमार्फत् बाहिर आए । ती कुराहरु चाँहि स्वतन्त्र प्रेसको भावना विपरित छन् । यदि सभामुखले त्यो पदभन्दा बाहिर बसेर गर्नुभएको टिप्पणी भएदेखि त्यो कुराको पनि पुष्टि गर्नुपर्थ्याे होला । तर, सम्माननीय जस्तो एउटा पदमा बसेको व्यक्तिबाट अत्यन्तै अशोभनीय शब्दहरु प्रयोग गरिए । जुन शब्दहरु तथ्यहीन थिए । कि उहाँले ती कुराहरु पुष्टि गर्नु पर्छ । होइन भने कि ती कुराहरुबाट सच्चिनु पर्छ ।’

पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै सभामुखलाइ अभिव्यक्ति सच्याउन भनेकाे छ । महासंघकाे सचिवालयमार्फत् यो कुरा सच्चिनुपर्छ भनेर तत्काल नै आग्रह गरिएकाे पुरीकाे भनाइ छ ।

‘हिजो बेलुकापख सचिवालयमार्फत् एउटा विज्ञप्ती त आयो । तर त्यो विज्ञप्ती के को लागि निकालिएको हो भन्ने कुरानै नखुल्ने खालको भयो,’ महासचिव पुरीले भने, ‘त्यसपछि पनि हामीले विभिन्न माध्यामबाट सभामुखजीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन वा पुष्टि गर्नका लागि हामीलाई त्यो फिर्ता लिनुस भनेर भन्ने मात्रै होइन । यदि सक्नु हुन्छ भने पुष्टि गर्नुस् । सञ्चार क्षेत्रमा भएका कमीकमजोरी हटाउनका लागि हामी तयार छौं भन्ने नै हाम्रो कुरा हो । उहाँले त्यो कुरालाई पुष्टि गर्नु भयो भने फिर्ता लिनुपर्छ भन्ने होइन । तर समग्र सञ्चार क्षेत्र विक्रीमा रहेको, खरिदविक्री गर्न खोजिएको, कसले गर्न खोजेको, कहाँ भएको, यस्तो कुराको जवाफ त्यस्तो ठाउँमा बस्ने व्यक्तिले दिनुपर्छ । होइन भने यो अशोभनीय, अमर्यादित टिप्पणी हो सञ्चार क्षेत्रको लागि । त्यसैले पत्रकार महासंघले विरोध गरेको छ ।’

उनले सञ्चार क्षेत्रमा, पत्रकारिता क्षेत्रमा सुधार हुनुपर्छ भन्ने कुरामा महासंघ सहमत भए पनि सिंगो पत्रकारिता क्षेत्रलाई नै गाली गर्ने सभामुख घिमिरेको अभिव्यक्ति पाच्य नहुने चेतावनी समेत दिए ।

LIVE TV