
महेन्द्रनगर । परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयो भन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थ साबित भएकाे छ । कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा यस्ताे घटना भएपछि खुसीको सीमा छैन ।
पुर्ख्याैली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आउका छन् । विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन् ।
“घरबाट २०३८ सालमा निस्कँदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गर्थ्याे भन्ने सुनिएको थियो”, चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, “माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो ।”
बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए । तर बिहीबार साँझ आलितालका हरि मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको उनले बताए ।
“आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्”, उनले सुनाए, “मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ ।” बैंग्लोरमा कार्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन् ।
“परमानन्द र हरिबीच पुर्ख्याैली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो”, खुसीले गद्गद् भएका रामदत्तले भने, “यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडाैँसम्म खोजेँ, पत्ता लागेकाे थिएन।”
भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उनले सुनाए । “बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु-भाइको सल्लाह भयो । बुबाआमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ,” रामदत्तले भने ।
मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो । “भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ”, रामदत्तले भने, “ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे ।”