
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । अंगदानबाट कसैलाई नयाँ जीवन प्रदान गर्न सकिन्छ । कुनै पनि अंग प्रत्यारोपण गर्दा महिला वा पुरुष जो सुकै भए पनि आवश्यक प्रक्रिया पु-याएर अंगदान दिन र लिन सकिने प्रावधान छ ।
मिर्गौला प्रत्यारोपणका लागि आवश्यक मिर्गौला दान गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिन्छ तर मिर्गौला प्रत्यारोपण गर्ने महिलाको संख्या भने निकै कम छ ।
कुनै पनि रोग महिलामा कम र पुरुषमा बढी भन्ने हुँदैन । रोगको संक्रमणले महिला र पुरुष भनेर पनि छुट्याउँदैन । तर रोग लागिसकेपछि भने समाजिक, आर्थिक लगायत विविध कारणले महिलामाथिको ठूलो विभेद् देखिन्छ ।
मिर्गौलाले पूर्ण रुपमा काम गर्न छाडेको अवस्थामा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यो अवस्थामा कानुनको दायरा भित्र बसेर महिला पुरुष जो कोहिले मिर्गौैला दान गर्न सक्छन् । तर मिर्गौला दान गर्नेहरुमा महिलाको संख्या पुरुषको तुलानामा निकै बढी छ ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिएको छ । जसमा प्रत्यारोपण लागि मिर्गौला दान गर्ने महिलादाताको संख्या ७ सय ३६ हुँदा पुरुषदाताको संख्या २ सय ७१ मात्रै रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पनि झन्डै ८० प्रतिशत दाता महिला र ७० प्रतिशत ग्रहणकर्ता पुरुष नै देखिन्छन् । त्यस्तै, वीर अस्पतालमा पनि मिगौला प्रत्यारोपणका क्रममा आवश्यक मिर्गौला दान गर्ने दाता महिला नै छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने पनि महिला नै थिइन् । दुबै पटक ओलीले मिर्गौला प्रत्यारोपण गर्दा महिलाले नै दान गरेका थिए ।
नेपालका सरकारी तथा निजी अस्पतालमा हालसम्म १७ सय भन्दा बढी मिर्गौला प्रत्यारोपण गरिएको तथ्यांक छ । त्यसमध्ये ७२ प्रतिशत भन्दा बढी दाता महिला नै छन् । तर मिर्गौला पाउनेमा भने महिलाको सख्या २२ प्रतिशतको हाराहारीमा देखिन्छ ।
यसरी मिर्गौला दान गर्ने दाताहरुमा शहरी तथा ग्रामिण दुवै क्षेत्रमा महिला नै बढी छन् । यसरी महिला दाताको संख्या बढी देखिनुमा पितृसत्तासत्तामक सोच, महिलाहरुको स्वभाव तथा आर्थिक निरर्भता जस्ता प्रमुख कारण हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
महिला वा पुरुष जो कोहिको मिर्गौलामा समस्या देखिन सक्छ । तर पुरुषको मिगौलाले काम गर्न छोडेको अवस्थामा परिवारका जो कोहि महिला सदस्य दानको लागि अगाडि बढ्छन् । तर यहि अवस्था महिलामा देखियो भने पुरुष सदस्यहरु दानको लागि हिच्किचाउने अवस्था विध्यमान छ ।
यस्तो विभद्पूर्ण अवस्थालाई हटाउन मरणोपरान्त गरिने अंगदानलाई बढुवा दिन आवश्यक रहेको जानकारहरु बताउँछन् ।