
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपतिको सपथ भोलि फागुन २९ मा तोकिएको छ । सपथ नलिएसम्म राष्ट्रपतिको पद सक्रिय हुँदैन । यता नयाँ राष्ट्रपतिले पशुपतिको दर्शनदेखि बीपी–गणेशमान–किसुनजी–पुष्पलाल सबैका शालिकमा माला पहि¥याउन पुगिसके । कतिबेला राष्ट्रपतिमा निर्वाचित भइएला र दौडिहालौं भनेर तयारीका साथ बसेको जस्तै लाग्यो । पूरै पाँच वर्ष छ, सपथ लिएर आरामले धैर्यतापूर्वक यी काम गरेको भए पनि भइहाल्थ्यो । तर नयाँ राष्ट्रपतिको शैली ‘गेट–सेट–गो’ वाला देखियो । राष्ट्रपति रामचन्द्र पौडेलको दैनिकीमा, पार्टीमा, घर परिवार र आफन्तमा देखिएको जस्तो रौनक त ‘पप्पु पास’ हुँदा पनि देखिएको थिएन ।
नयाँ राष्ट्रपतिका सम्बन्धमा के भनिँदिँदा उनको लागि कर्णप्रिय हुन्छन् ? भनेर चिन्तन गर्नेहरुले उनलाई कसैले ‘सादगी’ भनेका छन् । केहीले ‘त्यागी’ पनि भनेका छन् । सादगी र त्यागीको परिभाषा नयाँ राष्ट्रपतिको सवालमा मेल खान्छ कि खाँदैन भनेर जाँच्न मन हुनेहरुले उनकै छोरा चिन्तनले केही वर्षअघि प्राप्त गरेको नियुक्तितर्फ ध्यान दिनुहोला ।
देशमा नयाँ राष्ट्रपति बनेका छन् । नयाँ सभामुख बनेका छन् । नयाँ उपराष्ट्रपतिको प्रक्रिया पनि सुरु भइसकेको छ । केपी ओली नेतृत्वको सरकार अदालतको आदेशले ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा कांग्रेसका एक नेताले एमालेजनलाई कटाक्ष गर्दै भनेका थिए– संसदमा सत्ता पक्ष कस्तो हुन्छ र हुनुपर्छ, त्यो अब हेर्नुहोला ।
अर्थात कांग्रेसको सरकारले कस्तो काम गर्छ, त्यो संसदमा प्रतिपक्षको बेञ्चमा बसेर एमालेले हेरोस् भन्न खोजिएको थियो । नभन्दै २० महिनाजति शेरबहादुर देउवा प्रधानमन्त्री भए । पक्ष अर्थात कांग्रेसको सरकार कस्तो हुन्छ भन्ने दृष्टिविहिनले पनि देखे । अराजकता, कुटनीतिक विशृङ्खलता, मन्त्री फेर्ने निष्फल कर्म, बजेटमा विचौलीयाको प्रवेश मज्जैले देखियो । गरिखानेहरुलाई सरकार आफैं लागेर नीतिगत व्यवधान गरेर गरिखान दिएन ।
त्यो बेला कांग्रेसका ती नेताले भनेको अहिले सम्झना गर्नुको कारण के हो भने राष्ट्रपतिमा निर्वाचित हुनुअघि रामचन्द्र पौडेलले पनि भनेका थिए– म सितलनिवास जान पाए भने, सितलनिवासको सितलता देशले महशुस गर्नेछ ।
नाकाबन्दीलाई ‘नाकाबन्दी हो’ भन्न नसक्ने ती कांग्रेसी नेताले ‘पक्ष कस्तो हुनुपर्छ, हेर्नुहोला’ भनेर जसरी हुँकार गरेका थिए, तर व्यवहारमा उनको लुलो खुट्टा देख्दा, देख्नेलाई नै लाज लागेर आयो । अहिले सितलनिवासको सितलतावाला मामिलाले चाहिँ कसैलाई लज्जा बोध नगराओस् । कम्तिमा जनताले सितलनिवासमा बस्ने र निर्मलनिवासमा बस्ने बीचको भेद थाहा पाऊन् ।
यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तो करामत गर्नुभयो, त्यसलाई टालटुल गर्न उहाँका कार्यकर्तालाई चाहिँ बडो सकस नै पर्यो ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेला माओवादी कार्यकर्ताहरु ‘स्वेच्छाचारी– संविधान च्यात्ने ओलीलाई तह लगाउन अध्यक्षले गरेको ठिक हो, ठिक हो’ भन्दै नारा लगाए । त्यसपछि चुनाव भयो – समिकरण एकाएक फेरिएर आलीकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ।
कार्यकर्ताले फेरि ‘कांग्रेसको हठ तह लगाउन अध्यक्षले गरेको ठिक हो– ठिक हो’ भन्दै नारा लगाए । दुई महिना नै हुन नपाई प्रचण्ड देउवा तिरै लस्के अनि अहिले कार्यकर्ता फेरि ‘स्वेच्छाचारी–संविधान च्यात्ने ओलीलाई तह लगाउन अध्यक्षले गरेको ठिक हो, ठिक हो’ भन्दै सामाजिक सञ्जाल पूरै फोहोर गरिरहेका छन् ।
कार्यकर्ताको कुरा छाडौं, माओवादीका नेताहरु पनि लगभग उस्तै छन् । प्रचण्डले जे जे प्रस्ताव पार्टी कमिटीमा लैजान्छन्, ति सबै पास हुन्छन् । ओलीसँग मिल्ने पनि पास । देउवासँग मिल्ने पनि पास । कांग्रेसलाई वर्गशत्रु भन्ने पनि पास । उसैसँगको यारी पनि पास । असलमा यो पत्रु शैली माओवादीमा मात्रै होइन, कांग्रेस, एमाले, समाजवादी, जसपा सबैमा लागू हुन्छ ।
जता पनि फिट हुने तासमा जोकर हुन्छ । जता पनि सम्बन्ध बनाउँदै हिँड्नेहरुलाई के भनिन्छ, मैले भनिरहनु परेन, दर्शकहरुले बुझिसक्नुभयो । अनि राजनीतिमा पनि जता पनि मिल्दै, छाड्दै हिँड्ने यो धन्दा राजनीतिक वेश्यावृत्तीभन्दा कम लाग्दैन । तर कथित महान नेपाली जनताले यसलाई राजनीति भनेर बुझिदिनु परेको छ ।
महाकाली सन्धि गलत गरिएछ भनेर स्वीकार गर्ने केपी शर्मा ओलीले यसपटक देवराज घिमिरेलाई सभामुख बनाएर ‘त्यो बेइमानीको गुन तिरे’ भन्ने टिप्पणी भइरहेको छ । दबाबका कारण समिकरण फेर्नु परेको उल्लेख गरेर प्रचण्डले अरु नै कसैको भक्ति गरे भन्ने चर्चा भइरहेको छ । पटक पटक तिरस्कार बराबरको व्यवहार गर्दा पनि सत्ता पक्षसँग टाँसिन खोज्ने रास्वपाको शैलीले ‘वैकल्पिक राजनीति’को अभियानमाथि खेलवाड गरेको विश्लेषण भइरहेको छ । यस्ता खेलवाडका शृङ्खला जारी छन । अनवरत छन् ।
प्रश्न उहिमाथि तेर्सिन्छ, जसले कार्यकारी अधिकार आफ्नो हातमा लिएर बसेको हुन्छ । यो बेला पुष्पकमल दाहाल प्रचण्डमाथि अनेकन प्रश्न उब्जिसकेका छन् । तर उहाँको कार्यशैली विगतका दुई कार्यकालमा भन्दा फरक हुने कुनै संकेत देखिएको छैन ।
अलि अघि माओवादी कार्यकर्ताहरुले प्रचण्ड व्यक्ति होइनन्, विचार हुन्– संस्था हुन् भन्थे । अरुका विचारलाई विचार नै भनिन्थ्यो । प्रचण्डको विचारलाई प्रचण्डपथ भन्ने गरिन्थ्यो । त्यो प्रचण्डपथमा हिंसा देखियो, रगत देखियो । सत्ता देखियो । समिकरण देखियो । विदेशी हस्तक्षेप देखियो । लम्पसार देखियो । राष्ट्रको शिर निहुर्याउने कर्म देखियो । तर समृद्धि देखिएन । सुशासन देखिएन । विकास देखिएन । भ्रष्टाचारीलाई कारबाही, सदाचारीलाई पुरस्कार देखिएन । हाम्रा देखियो– राम्रा देखिएन ।
हामी जनता सधै केही देखिन्छ कि भनेर हेरिरह्यौं । हामीलाई यति पनि हेक्का भएन कि ‘हुँदै नभएको कुरा देखिँदैन’ भन्ने । प्रधानमन्त्री प्रचण्डमा जे¬जे थिएनन्, छँदै थिएनन्, त्यही जनताले–कार्यकर्ताले खोजी रहे । त्रिशूलीमा गएर कालीगण्डकीको शालिग्राम कहिल्यै भेटिन्छ र ? सर्पको खुट्टा, स्यालको सिङ कहिल्यै भेटिन्छ र ?
हामी नेपाली जनता कति सोझा– पटक पटक टेस्टेड र फेलियरहरुबाटै सुशासन, विकास र समृद्धिको आशा गरिरहेका छौं ।