
काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति बनेर आउँदा जनतामा कागलाई बेल पाक्यो हर्ष न विस्मात । विद्यादेवि भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेर जाँदैगर्दा जनस्तरमा न विदाईको भावनात्मक तरंग छ, न सम्मानको आभाष छ न उनको कार्यकालप्रति धन्यभाव छ न त उनको व्यक्तित्व र कृतित्व उपर अहोभाव छ ।
एक राष्ट्रपति जाँदै, अर्का आउँदै । जनस्तरमा बस् एक औषत घट्नाक्रम, एक मामुली समाचार । विलकुल भाव शून्य । बस् स्थुल आवागमन ।
हामी बेलाबखत देख्दछौं कि एक विद्यालयमा अध्यापन गर्ने शिक्षक विदा हुँदाको क्षण विद्यार्थी र अभिभावक भावुक बनेका हुन्छन्, रुवाबास चलेको हुन्छ ।
स—सान संघसंस्थामा, आमा समूहमा, युवा वा बाल क्लबमा, सामाजिक, सामुदायिक इकाइ एवं संस्थाहरुमा समेत निश्चित कार्यकाल गुजारेर कोही जाँदैछ भने विदाइको त्यो माहौल मर्मस्पर्शी बन्छ ।
स्मरण र भावनाका लहरहरु तरंगित हुन्छन् । तर मूलुकको सर्बोच्च पदबाट कोही विदा हुँदा आमजनलाई फिटिक्कै सरोकार छैन ।
प्रतिकृया शून्य स्थिति छ । न त कोही नयाँ आयो रे भन्नेमा नै रस छ । चसो छ । न आयोमा न कोही गयो भन्नेमा नै आमजनको चित्ताकर्षित छ ।
पद सर्वोच्च भएर के गर्नु ? यस्तो लाग्छ कि निरस र संकुचित मान्छेका आवागमन बस् एक प्रकृया र कर्मकाण्डमा सिमित छ ।
त्यसो त जनता को आयो र को गयो भन्ने कुराको भेउ नै पाउँदैनन् भन्ने पनि होइन ।
पदमा पुगेको चौविस घण्टा नबित्दै रामचन्द्र पौडेलको भिआपी सवारी शहरमा आतंक बनेर प्रकटमा आइसक्यो । जबकी उनले सपथ लिन भ्याएका छैनन् । तर सवारी आतंक मच्चाउन भ्याइसके ।
जुन सर्वाधिक आलोच्य मामला बनेको उनलाई राम्रो ज्ञान छ । हो, रामचन्द्र पौडेललाई यो भीआइपी सवारी चर्को आतंक बनेको थाहा छ ।
त्यसैले त राष्ट्रपति निर्वाचनको मतदानकै क्रममा संसद भवनमा पत्रकारमाझ रामचन्द्र पौडेलले भनेका थिए—“म राष्ट्रपति बनेपछि शीतलनिवासबाट बाहिर निस्कँदा सवारीका कारण जनताले ट्राफिक जामको सास्ती भोग्नुपर्दैन ।” तर आफ्नै बचन उनले २४ घण्टा नबित्दै तोडेका छन् ।
या त उनी हिजो अज्ञानताबस बोल्दै थिए या त उनी आज पदमा पुगेपछि जे गरेपनि हुन्छ भन्ने चित्तदशामा छन् । हो, गृह मन्त्रालयले भीआइपीको तहगत सुरक्षा सुविधा र सवारी प्रबन्धको निश्चित कार्यविधी नै बनाएको हुन्छ । त्यो मान्नु पर्छ या अनुकुलको नलागे बिधिबाटै फेर्नुपर्छ । तर उपाय अर्को पनि नि छ कि विधि पनि विस्तारै सुधार गरौंला पहिले त आफ्नै मति सुधारौं ।
‘जनताको निराशालाई आशामा बदल्छु’ भन्दै सडक खाली गराएर कुदे रामचन्द्र पौडेल
हो पात्रको मतिले पनि त काम गर्छ होला नि ? पदीय प्रोटोकल भद्दा छ भन्दैमा पदमा पुग्ने सर्लक्कै भद्दा, बेसरम, यन्त्रवत् बन्नु जरुरी हुन्छ र ? आफ्नो विवेक प्रयोगमा त राष्ट्रपति पात्रको पनि कतै स्थान होला नि ? असंवैधानिक कदम चाल्न त निकै उत्ताउलो बनेको पनि देखिएकै हो ।
पदीय मर्यादा भुलेर दलीय आग्रहमा मनपरी गर्न मिल्छ भने जनचाहनाको हेक्का राख्न त्यो पात्रले किन मिल्दैन ? सवारी अचाक्लीमा लचकता अपनाउन किन मिल्दैन ? फेरी सवारी पनि त औपचारिक र अनौपचारिक हुन्छन् ।
अनौपचारिक सवारी, निजि प्रयोजनका घुमफिर र भेटघाटमा निजले सोचिबिचारी गर्न किन सक्दैन ? मन लाग्दा म यहाँ जान्छु भन्न सक्नेले म यसरी जान इच्छा गर्छु भनेर छुट्क्याइलो, सरल, सहज यात्राको उपाय खोज्न सक्दैन ? यदि सक्दैन भने कार्यविधि नफेरुन्जेल बरु म हिड्दै हिड्दिन भन्दा के हुन्छ ? वा हिँडेपनि म सर्वसाधारणलाई मर्का नपर्नेगरि विहान सबेरै वा बेलुका अबेर यात्रा गर्छु भन्नका लागि के ले छेक्छ ? के त्यो भीआइपी प्रोटोकलमा सबेरै बिहान र अबेर रात पनि हिड्न रोकावट छ ? ल मानौ छ भने पनि अरुलाई कष्ट हुनेगरि म हिड्दै हिड्दिन भनेर थपक्क दुईचार दिनका लागि थान्कोमा बस्न के हुन्छ ? पदमा पुग्नासाथ सवारी हुँइक्याउने के को हतारो हो ? के को उन्माद हो ? पदभार ग्रहण भएकै छैन, सपथ बाँकी नै छ । तर सवारी कुँदाउन, भीआइपी उछलकुँद प्रदर्शन गर्न के बिधि आतुर ?
भिडियो