२२ फाल्गुन २०७९, सोमबार

काठमाडाैँ । लेखक विष्णु ढकालको उपन्यास ‘जौवा’  सार्वजनिक भएको छ । शनिबार बागबजारस्थित होटल हार्दिकमा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका संचालक पुुष्पराज पौडेल, पत्रकार तथा समालोचक राजकुमार बानीया, चलचित्रकर्मी तेज गिरी, मनोविद तथा लेखक डा. विजय ज्ञवाली, समाजशास्त्री प्राध्यापक विमला भट्टराई, लेखकका काका हरि ढकाल र ससुराबुबा लक्ष्मण राज ज्ञवालीबाट कृतिकाे संयुक्त रुपमा लोकार्पण गरिएकाे थियाे ।

नेपाली साहित्यको क्षेत्रमा नविनतम कृति लिएर झुल्कीनु भएका नयाँ लेखक ढकाल विगत लामो समय देखि ग्राणिम बैंकिंग क्षेत्रमा कार्यरत छन् । उक्त पुुस्तक लोकार्पण समारोहमा स्वागत मन्तव्य राख्दै कार्यक्रमका सभापति तथा शिखा बुक्सका संचालक पुुष्पराज पौडेलले राम्रो औपन्यासिक कृति बजारमा आएकोले सबैलाई पढिदिन आग्रह गरे ।

पुस्तकमाथि समीक्षा तथा शुुभकामना मन्तव्य राख्दै कलाकार तेज गिरीले काठमाण्डौंको लाजिम्पाटमा ५ तलाको घर बनाउनुभन्दा ठुलो खुशी यो पुस्तकले लेखकलाई दिएको बताए । उनले भने, ‘मनको सफलताभन्दा ठुलो अरु केही रहेनछ ।’

त्यसैगरी मनोविद तथा लेखक डा. विजय ज्ञवालीले आफूले यस पुस्तकको पाण्डुलिपि नै अध्ययन गर्ने मौका पाएको, यस पुस्तकमा छोटा छोटा वाक्यहरु रहेकोले उक्त प्रयोगको आफुले आफ्ना पुस्तक लेखनमा अनुसरण गरेको बताए । उनले भने, ‘नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ । जौवा भनेको विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो ।’

समिक्षाका क्रममा यो उपन्यास जौवा माथी आफुलाई खड्केका केही कुराहरु समेत राख्नुुहुदै, डा. ज्ञवालीले त्यो कालखण्डका ठुला ठुला घटना नजोडिएको जस्तैः प्रजातन्त्र, गणतन्त्र, दशवर्षे जनयुद्ध आदि कुराहरु समेत समेटिएको भए राम्राे हुने र पछिल्लाे पुस्तालाई पनि त्यो कालखण्डबारे बोध हुने कुरा बताए ।

त्यसैगरी समीक्षा तथा शुुभकामना मन्तव्य राख्दै समाजशास्त्री प्राध्यापक विमला भट्टराईले पुस्तकभित्र समेटिएका विषयवस्तु लयबद्ध रुपमा रहेको, पुस्तकमा समाजप्रतिको बोध रहेको बताइन् ।

त्यसैगरी पत्रकार तथा समालोचक श्री राजकुमार बानियाले पुस्तक समग्रतामा राम्रो रहेको बनाउँदै यो उपन्यास आञ्चलिक उपन्यास भएको बताए । यो उपन्यासको लेखनलाई बुद्धिसागरको कर्णाली ब्लुजसंग दाज्न सकिने बताउँदै उनले भाषिक हिसाबले पनि बलियो रहेकाे बताए ।

कार्यक्रममा प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले कृति सफलतासँगै लेखनको निरन्तरताको कामना गरे ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको जौवा उपन्यासको मुल्य रु.५२५ रहेको छ ।

LIVE TV