
काठमाडौं । साइवर सुरक्षासम्बन्धि सचेतनाका लागि ‘डिजिटल हाइजिन सेफ्टी इन द डिजिटल एरा’ कार्यशाला सम्पन्न भएको छ ।
कलाकारिताका विभिन्न विधामा लाग्न र व्यवसायिक हिसाबले आफ्नो करिअर निर्माण गर्ने अवसरको खोजीमा रहेका युवा पुस्तालाई भरमग्दुर सहयोग पुर्याउँदै आएको गेहेन्द्र धिमाल फाउण्डेशन र प्रोमिनेन्ट लर्नरको संयुक्त समन्वयमा शनिबार चलचित्र विकास बोर्डको प्रेक्षलयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रममा प्रोमिनेन्ट लर्नरका नारायण कोइराला र सन्जिव उपाध्यायले साइवरसम्बन्धी खतराबाट कसरी बच्ने सम्बन्धमा जानकारी गराएका थिए ।
कार्यक्रममा गेहेन्द्र धिमाल फाउण्डेशनका संस्थापक अध्यक्ष गौतम धिमालले समग्र फाउण्डेसन र उद्धेश्यबारे जानकारी दिएका थिए । कार्यक्रमको समापन फाउण्डेसनका सचिव सबिन बस्नेतले गरेका थिए ।
दोस्रो चरणको कार्यशालाको सहजीकरण गायक, र्यापर, सञ्चारकर्मी निर्णय श्रेष्ठ (एनएसके)ले गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश जोशीले नेपालमा हुने अधिकांश साइबर अपराधहरु पूर्वप्रेमि प्रेमिकाको रिसिइविका कारण हुने गरेको बताए । उनका अनुसार साइवर अपराधका धेरैजसो मुद्धाहरुमा अन्तिममा आएर दुई पक्षबीच समझदारी हुने गरेको छ ।
दुई पक्षबीचको समझदारीपछि यस प्रकारका मुद्धामा प्रायजसो कारवाही तथा सजाय गरिरहनु नपरेको पनि उनले बताए ।
त्यस्तै कार्यक्रममा अधिवक्ता प्रविण सुवेदीले कतिपय कानूनी अड्चनका कारण साइवर अपराधका मुद्धामा समस्या हुने गरेको बताएका छन्। उनका अनुसार अहिले ७७ जिल्लाका साइबरसम्बन्धी उजुरीका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताका कारण पनि घटनाहरुले मूर्त रुप लिन नसकेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रायलयका उपसचिव इन्द्र मैनालीले सञ्चार विधेयकको मस्यौँदा बनिसके पनि उक्त विधेयक पारित नहुँदा साइबरसम्बन्धी मुद्धाहरुले किनारा पाउन नसकेको बताए । उनले अब जतिसक्दो चाँडो विधेयक पारित गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल साथै विभिन्न विद्याका कलाकारहरुको उपस्थिति थियो । सहभागी कलाकर्मीहरुले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने र देशैभर थप निरन्तरता दिनुपर्नेमा जोड दिए ।