२८ माघ २०७९, शनिबार

जनताका प्रतिनिधि सांसदहरु आवेगी कम विवेकी ज्यादा भएको राम्रो हो । तर संसदमा कुर्सी टेबुल नै उठाएर पछार्ने, माइकले झटारो हान्ने, मर्यादापालक माथि अभद्र व्यवहार गर्ने, रोष्टममा जबरजस्ति हुलिन र हेलिन खोज्ने दृश्य देखिएकै हो ।

सांसदहरुको तमासा संसद भवन बानेश्वरमा मात्रै होइन, बेलाबेलामा सिंहदरबारमा चल्ने संसदीय समितिका बैठकमा पनि देख्नु, सहनु पर्छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको आज शुक्रबार बसेको बैठकमा सांसदहरुबीच भनाभन चल्यो ।

कांग्रेसबाट टिकट नपाएका, स्वतन्त्र उठेर सांसद जितेका अमरेश कुमार सिंहले संसदका कर्मचारीलाई एमाले कार्यकर्ता भनेपछि बबाल उठेको हो ।

आडैमा थिए एमाले सांसद सुवासचन्द्र नेम्वाङ । उनै नेम्वाङलाई समेत मुछेर कर्मचारीले खुसुखुसु कानेखुसी गर्दै निर्णय प्रभावित पर्ने र सांसदहरुको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने गरेको आरोप अमरेश सिंहको थियो ।

समितिमा छलफलको विषय थियो सांसदहरूले पाउने विशेषाधिकार र बाँधिनु पर्ने नियम एवं सर्तहरुको बारेमा ।

जस्तो कि फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म सांसदको पद र सुविधा के गर्ने ? भन्ने बिषयमा निकै तर्कवितर्कहरु चल्यो ।

छलफल पछि निष्कर्ष सुनाउने क्रममा संसद सचिवालयका कर्मचारीको रवैयालाई लिएर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आक्रोश पोख्न सुरु गरे ।

उनले संसद कर्मचारीलाई तपाई एमालेको कार्यकर्ता हो मात्रै भनेनन्, एमाले सांसद सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्दै निर्णय र छलफल प्रभावित पार्ने, हस्तक्षेप गर्ने गरेको आरोप लगाएपछि बैठकमा खैलाबैला सुरु भयो ।

सुवास नेम्वाङले आफ्नो पनि नाम मुछिएकोले प्रतिवाद गर्न खोज्दा उल्टै सांसद अमरेशकुमार सिंहले नेम्वाङलाई गिरिस चन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन ? भन्दै विषयान्तर प्रश्न गर्दै थप बबाल खडा गरे ।

विषयान्तर गरेर उत्रिएका अमरेशको रवैयामा अर्का सांसद महेश बर्तौलाले नियमापत्ति गरे ।

त्यसपछि स्थिति सम्हाल्नका लागि समितिका सभापति चित्रबहादुर केसीले पहल लिएका थिए ।

(भिडियो)

LIVE TV