
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँ छन् ।
सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो एक बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् । यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले नियुक्त भएको ३० दिन अर्थात् आजसम्ममा विश्वासको मत लिइसक्नुपर्छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।
रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यार्थी झिकाउने आदेश गरेसँगै निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेको छ ।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।