
काठमाडौं । आज उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । यस संयन्त्रमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सम्मिलित छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठक बस्ने निर्णय भएको थियो ।
बैठकमा सरकारका काम कारवाही, राष्ट्रपतिको निर्वाचन र सुदुरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत लगायनका विषयमा छलफल हुने जनाइएको छ ।
राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । सत्ता गठबन्धन भित्रै राष्ट्रपति कस्लाई उठाउने भन्ने विषयमा एकमत छैन । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको खोजी गर्दैछन् भने एमाले अध्यक्ष ओली आफ्ना उम्मेदवारालाई राष्ट्रपति निर्वाचित गर्ने अडानमा छन् ।
त्यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन् । बुधबार नै विश्वासको मत लिने कार्यक्रम भएपनि नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि आजका लागि सारिएको थियो ।
उक्त पार्टीले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने निश्चित छ । केपी शर्मा ओली अध्यक्ष रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको हो ।