
- हरिशंकर शर्मा
वीरगन्ज (पर्सा) । भारतीय पक्षले गरेको प्रतिबद्धताअनुसार पूर्वाधार तयार नगर्दा डस्टी कार्गो आयात सकस बन्दै गएको छ ।
रक्सौलस्थित रेल्वे साइडिङ्गबाट ट्रकमा लोड गरि नेपाल आयात गरिने डस्टी कार्गोलाई भारतीय पक्षले एकिकृत जाँच चौकी हुँदै आयातित रुट सारेपछि डस्टी कार्गो आयात सकस बन्दै गएको हो ।
साबिकको वीरगन्ज भन्सार नाकाको बाटोको सट्टा भारतीय आईसीपी हुँदै नेपाली आईसीपीतर्फ डस्टी कार्गो आयात हुन थालेपछि यो रुट झन्झटिलो हुनुका साथै आर्थिक भार थपिएको आयाकर्ताको गुनासो छ ।
नेपाली आयातकर्ताले भारत लगायत तेश्रो मुलुकबाट आयातित गरेको डस्टी कार्गो रक्सौलस्थित रेल्वे साइडिङ्गसम्म रेलमार्गबाट ल्याइ ट्रकमा लोड गरि साविकको वीरगंज भन्सार नाकाको बाटो हुँदै गन्तव्यसम्म पु¥याउने काम हुँदै आएको थियो । तर यही जनवरी २०२३ देखि भारतीय पक्षले आईसीपी हुँदै डस्टी कार्गो आयात गर्न निर्देशन दिएको हो । यस रुटबाट डस्टी कार्गो आयात गर्दा ७ सय ५० मिटर बाटोमा अत्याधिक समस्या हुने गरेको वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालको भनाइ छ ।
उनका अनुसार एकिकृत जाँच चौकी हुँदै डस्टी कार्गो आयात गर्दा रेल्वे साइडिङ्गदेखि बाइपास सडकसम्मको रक्सौल स्थित ७ सय ५० मिटर सडक साँघुरो भएको, वस्ती हुँदै ल्याउनु परेकोले समस्या उत्पन्न भएको छ। मुख्य सडक नभई आईसीपीबाट डस्टी कार्गो ल्याउने हो भने आयातकर्ताको प्रति टन ६ देखि ८ सय रुपैया एवं प्रति कन्टेनर २५ सय देखि ३ हजार रुपैया थप भार पर्ने गरेको राजपालको भनाइ छ ।
रक्सौल रेल्वे साइडिङ्गबाट डस्टी कार्गो टिपरमा लोड गरेर त्यहाँबाट ७ सय ५० मिटर बाटो छिचोल्न समस्या भएको हो । साँघुरो र भीडभाडयुक्त बाटो छिचोलेर आईसीपी सडकको पहुँचमा पुग्न टिपरलाई सकस रहेको उनको भनाई छ । भारतीय पक्षले यो बाटोको भीडभाड हटाउने प्रतिबद्धता समेत जनाएको थियो तर त्यसो केही भएन् । रक्सौलको रेल्वे साइडिङ्गबाट हाइवेसम्म आइपुग्न ७ सय ५० मिटरको बाटोको ४ स्थानमा विभिन्न समस्या छ ।
साँघुरो सडक, मानव वस्ती, तरकारी बजार, स्कुल, अस्पताल जान त्यही बाटो प्रयोग गर्ने गरिएको कारण पनि त्यस बाटोबाट डस्टी कार्गो आयात गर्न सकस भएको राजपालको भनाई छ । हाइवेदेखि भारतीय आईसिपिसम्म डेडिकेटेट लाइन दिने भारतीय पक्षले प्रतिबद्धता समेत गरेको थियो त्यो पनि दिइएन । भारतीय आईसिपि भित्र पनि डेडिकेटेड लेन दिन भारतीय पक्षको प्रतिबद्धता थियो त्यो पनि भएन, मात्रै आईसिपिबाट ल्याउन भारतीय पक्षले विगत ६ महिना अघिदेखि दबाब दिदै आएको छ तर पूर्वाधार भने नदिएको नेपाली आयातकर्ता व्यापारीहरुको गुनासो छ ।
यता, तराई यातायात व्यवसायी संघ पर्साका कार्यवाहक अध्यक्ष सुहेल अख्तर अन्सारीले आईसिसिबाट डस्टी कार्गो आयात गर्दा विभिन्न ४ प्रकारको सकस व्यवहोर्नु परेको बताए । उनले ढुवानी खर्च बढ्ने, ट्रकका मजदुर चालकहरु पलायन हुने, व्यापारीको भार थप्ने, बढि समय लाग्ने तथा जनताहरु मर्कामा पर्ने जस्ता समस्या उत्पन्न भएको बताए ।
उनले भारतीय पक्षले नेपाली ढुवानी व्यवसायीलाई पलायन गर्ने मनसायले आयातकर्ता व्यापारीहरुलाई पेलेर जाने काम गरि रहेको बताए । भारतीय पक्षले गरेको प्रतिबद्धता अनुसार आईसिपिमा ग्रिन लेन नदिएको कारणले रेल्वे साइडिङ्गबाट भारतीय आईसिपिसम्म पुग्न दुई दिनसम्म लाग्ने गरेको तथा विभिन्न स्थानमा अनावश्यक पैसा तिर्नु परेको उनको भनाइ छ ।
एक महिनामा ३० र्याक डस्टि कार्गो आउँछ, जसमा ६ हजार ट्रकमा सामान लोड गरि नेपाल भित्र्याइन्छ तर ६ हजार ट्रक भित्र्याउन भौतिक संरचना पनि नभएको उनको भनाई छ । रुट परिवर्तन गर्दा ५ देखि ७ किलोमिटरको दुरि पर्छ, तर दुरि भन्दा पनि भारतीय आईसिपिले पनि अनावश्यक समय लगाउने गरेको कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।
दैनिक १ सय भन्दा बढि गाडीबाट माल सामान ढुवानी भइरहेको अवस्थामा हाल दैनिक १० देखि १५ वटा पनि गाडी आउन समस्या भएको उनको भनाइ छ । यसबारे वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा पुनः एक पटक कुरा गर्ने, समस्याको समाधान नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
पूर्वाधार नै नदिई जबरजस्ती गर्न खोज्दा समस्या उत्पन्न भएको हो । नेपाली आयातकर्ताहरुको डस्टी कार्गो मासिक ३० ¥याक भन्दा बढि आउने गरेको छ । जस अनुसार एक दिनमा एक ¥याक नै ल्याउने हो भने दैनिक आवत जावत गरि ४ सय भन्दा बढि टिपर आवत जावत गर्न सडक व्यवस्थापन नभएकोले समस्या उत्पन्न भएको हो ।
भारतीय पक्षले रक्सौल रेल्वे साइडिङ्गबाट सोझै भारतीय आईसीपीमा प्रवेश गर्न १० नम्बर गेट खुला गर्ने प्रतिबद्धता समेत जनाएको थियो तर त्यो पनि भएन, जसको कारण अन्य मालवाहक ट्रक तथा लरीसँगै कार्गो बोकेको टिपर पनि घण्टौं जाममा बस्नुपर्ने बाध्यता सृजना भएको उनको भनाई छ । विगतमा एक रेल्वे र्याक डस्टी कार्गो ढुवानी गरेर रक्सौलबाट वीरगन्जसम्म ल्याउन ३६ घण्टा लाग्ने गरेको थियो तर अहिले ५ देखि ६ दिनसम्म लागि रहेको राजपालको भनाइ छ ।
डस्टी कार्गो आयातमा नेपाल सरकारले खासै चासो नदेखाएको कारण पनि आयातकर्ता व्यापारीहरु विगत ५ वर्षदेखि विभिन्न खाले समस्याहरु झेल्दै आएका छन् । पाँच वर्षअघि रक्सौलका स्थानीयको अवरोधका कारण त्यहाँ क्लिंकर लोड–अनलोड बन्द भएको थियो । त्यसयता भारतीय भन्सारले पटक पटक डस्टी कार्गो त्यहाँबाट हटाउन अल्टिमेटम दिदै आएको छ ।
प्रत्येक पटक सूचना निस्किएपछि आयातकर्ता सरकारदेखि भारतीय निकाय गुहार्नु परेको छ । तर, नेपाल सरकारले अहिलेसम्म यसको दीर्घकालीन विकल्प दिन नसकेको छैन । आईसीपी सञ्चालनमा आएको ४ वर्षमा यो नाकाको अधिकांश आयात निर्यात यही एकीकृत पूर्वाधार मार्फत भए पनि कोइला, आइरन ओर, स्ल्याग जस्ता लुज कार्गो र केही परिमाणमा आइरन ब्लेड, आइरन रोल लगायत औद्योगिक कच्चा पदार्थ पुरानै रक्सौल –वीरगन्ज हुँदै भित्रिदै आएको थियो ।