२२ माघ २०७९, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले संसदमा आएका नयाँ दलमा पनि नयाँपन नदेखिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले नयाँ आएका दलका नेता सांसदरुले पनि पुरानै दलहरुको जस्तो चरित्र देखाएको टिप्पणी गरेका हुन् । उनले पछिल्लो समय नयाँ र आशाको केन्द्र मानिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामोहको चरित्र देखाएकोप्रति लक्षित गर्दै सबै जोगी कानै चिरेका र एउटै ड्याङका मूला भन्ने उखान स्मरण गराएका हुन् ।

जनताले केही नयाँ चाहेको बेला दलका नेताहरू सुध्रिन नसकेको उनको भनाइ थियो । उनले भने ‘हामी पुराना त उस्तै थियौँ, नयाँ आएकाहरु पनि कानै चिरेर आएका रहेछन् । हामी अहिले पनि सुध्रिएका छैनौं, तर संसदमा आएका नयाँ फरक होलान् भनेको त उनीहरु पनि उही ड्याङका मुला रहेछन् ।’

नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागिपरेको भन्दै उनले अझै  पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने समेत बताए । आँखैअघि व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको उनकाे भनाइ थियाे ।

‘मुलुक भयानक आर्थिक शंकटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दा पनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् । आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ,’ उनले भने, ‘व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ । हामी यस्तो बिडम्वना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ ।’

LIVE TV