२२ माघ २०७९, आईतवार

काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गरियोस् भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आज (आईतबार) निर्वाचन आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन चढाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार उठेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमाएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गरिनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् । उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानूनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको स्पष्ट पारे ।

‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र उपर दाबी बिरोध गर्ने, मनोनयन पत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ, निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्ने त्यसको निरुपण गर्ने भनेको संवैधानिक इजलासले गरेको हुन्छ,’ अर्यालले भने, ‘चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो । ६ महिना भन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्ने छ । यस बाहेक कानूनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन ।’

LIVE TV