२२ माघ २०७९, आईतवार

एजेन्सी । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको  उमेरमा निधन भएको छ । उनकाे निधन भएकाे पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ ।

आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा उनकाे निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले दिवंगत आत्मालाई आशीर्वाद दिऊन् र शोक सन्तप्त परिवारलाई शक्ति प्रदान गरून्,” विज्ञप्तिमा भनिएको छ ।

पूर्व राष्ट्रपति  मुशर्रफको ’एमाइलोइडोसिस’ नाम बिरामीका कारण निधन भएको जनाइएकाे छ । उनलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियाे । उनी सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिएका थिए । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे ।

मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए । उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी) को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गरे ।

LIVE TV