
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक केहीबेरमा पार्टी कार्यालय बसुन्धारामा बस्दैछ । उक्त बैठक बस्नुअघि सभापति लामिछानेले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीलाई भेट्न केहीबेर अघि लामिछाने वालुवाटार पुगेका थिए । नागरिकता विवादमा दोषी ठहरिएका लामिछानेले पुन: गृहमन्त्री बन्ने चाहना व्यक्त गरेका थिए । तर प्रधानमन्त्री रविलाई गृहमन्त्री बनाउन सकारात्मक भएका छैनन । बरु अन्य मन्त्रालय लिएर गृहमन्त्रालय आँफै लिने सुरमा प्रधानमन्त्री छन् ।
रास्वपाले भने पूर्वसहमति अनुसार आफूहरुले नै गृहमन्त्रालय पाउनुपर्ने बताउदै आएको छ । यद्यपि प्रधानमन्त्रीको उक्त आग्रहप्रति रास्वपा आन्तरिक बैठकमा छ ।
रास्वपाले प्रधानमन्त्रीको आग्रहप्रति कस्तो निर्णय गर्छ त्यो हेर्न बाँकी छ ।
यसअघि गृहमन्त्रालय नदिए सरकार छाड्ने रास्वपाले चेतावनी दिएको थियो । आजको बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने जनाइसकेको छ ।