
- एल बि मगर
रोल्पा । रोल्पामा विद्युतको नाङ्गो तारमाथि रुख ढलेको महिना दिन बितिसक्दा समेत रोल्पास्थित विद्युत प्राधिकरण भने बेखबर रहेको छ।
रोल्पाको सुलिचौर हुँदै सदरमुकाम लिवाङ जोड्ने सडकको लाकुरी–सातदोबाटो सडक खण्डमा पर्ने विद्युतको हाइटेन्सन लाइनको नाङ्गो तारमा करिब एक महिना अगाडि रुख ढलेको थियो । तर हालसम्म उक्त ढलेर अड्किएको रुख हटाउन विद्युत प्राधिकरणले चासो देखाएको छैन ।
विद्युतको नाङ्गो तारमाथि अडिएको रुख नहटाउँदा स्थानीय तथा सो सडकबाट आवतजावत गर्ने नागरिकहरुलाई जोखिम बढेको छ ।
स्थानीयका अनुसार जिल्लाका विभिन्न स्थानमा विद्युत प्राधिकरणले यसप्रकारका लापरवाही भएको छ ।
विद्युत अव्यवस्थित हुँदा कुनै प्रकारको अप्रिय घटना हुनक्ने भन्दै स्थानीय त्रासमा छन् ।
विद्युत प्राधिकरण रोल्पाले सिकारु कामदारमार्फत काम गराएकाले उक्त जोखिम बढेको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार रोल्पा विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत जस्तो अत्यावश्यक सेवामा चरम लापरबाही गर्दै आएको छ ।
प्राधिकरणले मातहतका कर्मचारी तथा प्राविधिकहरुलाई चुस्त दुरुस्त रुपमा काममा खटाउन नसक्दा नसक्दा लामो समयदेखि अनेकन समस्याहरु भोग्दै आउनु परेको स्थानीयले गुनासो गरेका छन् ।