२२ माघ २०७९, आईतवार

काठमाडौं । पछिल्लो समय सत्ता गठबन्धनमा गृहमन्त्रालयको विषयमा खटपट आइरहँदा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सवाल जवाफ भएको छ ।

पछिल्लो पटक प्रधानमन्त्रीसँग प्रचण्डको ओलीको शनिबार छलफल भएको थियो । प्रधानमन्त्रीलाई भेट्न ओली वालुवाटार पुगेका थिए । उक्त छलफलमा ओलीले गृहमन्त्री जसरी पनि रास्वपालाई दिनुपर्ने अडान राखेको थिए ।

वालुवाटार स्रोतका अनुसार ओलीले प्रचण्डसामू राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउन अघि भएको सम्झौताको पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

त्यसको अर्थ गृहमन्त्री रास्वपाले पाउनुपर्ने र राष्ट्रपति एमालेकै हुनुपर्ने । तर प्रचण्डले हाललाई गृहमन्त्रालय रास्वपालाई नदिने आशाय व्यक्त गरे ।

उनले गृहमन्त्रालय रवि लामिछानेलाई हेरेर दिएको बताए । अहिले रवि सांसद नै नरहेकाले उनलाई पुन: गृहमन्त्री दिन नसकिने र अन्य रास्वपाका अन्य सांसदलाई पनि गृहमन्त्री बनाउन नसकिने प्रधानमन्त्रीले ओलीलाई बताएका थिए ।

बरु हाल माओवादीले लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रास्वपालाई दिएर गृह माओवादीले नै लिने सहमति जुटाउने प्रयास भएको थियो ।

यो विषयमा यसअघि गृहको साटो अन्य मन्त्रालय दिन सकिनेबारे ओली र प्रचण्डबीच सामान्य छलफल भएको खुलेको छ । तर ओलीले पूर्वसहमति अनुसार गृह रास्वपालाई नै दिनुपर्ने अडानपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई प्रतिप्रश्न गरेको बुझिएको छ ।

प्रतिप्रश्नमा प्रचण्डले – ‘त्यसो भए हाम्रो पार्टीका कुनै पनि सांसदलाई प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ ?” भनेका थिए ।

प्रचण्ड र ओलीबीच पछिल्लो समय भएको सहमति कार्यान्वयन हुन नसकेको भन्दै असमझदारी बढ्ने गरेको छ ।

यसअघि प्रचण्ड र ओलीबीच अघिल्लो संसद विघटको विषय सार्वजनिक रुपमा नउठाउने समझदारी भएको थियो । तर ओलीले उक्त विषय संसदको बैठकमै उठाएका थिए । ओलीले आफूले गरेको संसद विघटन ठिक भएको तर्क गरेका थिए ।

त्यस्तै रवि लामिछाने गृहबाट बहिरगमन भएपछि गृहमन्त्रालयको विषयमा सार्वजनिक अभिव्यक्ति नदिने सहमति भएको थियो । यो विषयमा पनि ओलीले विराटनगर पुगेर रविलाई गृहमन्त्री दिनै पर्ने धारणा राखेका थिए ।

LIVE TV