
काठमाडौँ । अमेरिकाले चिनियाँ बेलुन आफ्नो लडाकु विमानमार्फत खसालेको छ । उक्त बेलुनलाई अमेरिकाका प्रमुख सैन्य अखडाहरूमा जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले समुद्रमा खसालेको हो ।
अमेरिकी रक्षा मन्त्रालयले उक्त चिनिया बेलुन आफ्नो लडाकु विमानले एट्लान्टिक महासागरमा अमेरिकी क्षेत्रीय पानीमाथि खसालेको पुष्टि गरेको छ ।
अमेरिकी सेनाले शनिबार एक अप्रेसन गर्दै उक्त बेलुन फुटाएर खसालेको हो । यस अप्रेसनका कारण त्यहाँका तीनवटा विमानस्थल र नर्थ र साउथ क्यारोलिनाको तट नजिकको हवाई क्षेत्र पूरै बन्द गर्नुपरेको थियो ।
बेलुन फुटाएर खसालको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूमा प्रसारण भइरहेको छ । ती भिडियो फुटेजहरुमा सानो विस्फोटपछि बेलुन समुद्रमा खसेको देखाइएको छ ।
तर अमेरिकाको यो हर्कतको चीनको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । उसले चेतावनीको शैलीमा भनेको छ, ‘हामी नागरिक उद्देश्यका लागि प्रयोग गरिने मानवरहित बेलुनहरूमा अमेरिकी बल प्रयोगको घोर विरोध गर्दछौं ।’
बेलुन खसालेलगत्तै चीनको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चीनले अमेरिकालाई संयमता अपनाउन र शान्तिपूर्ण तथा व्यावसायिक रूपमा यो समस्या समाधान गर्न आग्रह गरेको छ । तर अमेरिकाले बल प्रयोग गरेकोले यस घटनापछि चीनले थप प्रतिक्रिया दिन आवश्यक रहेको स्पष्ट पार्दछौँ ।
राष्ट्रपतिले दिए बधाई
जब अमेरिकी रक्षा अधिकारीहरूले बिहीबार नै राष्ट्रपति जो बाइडेनसमक्ष उक्त बेलुनलाई ट्र्याक गरिरहेको जानकारी दिए, तब राष्ट्रपति जो बाइडेनमाथि उक्त बेलुन खसाल्नुपर्ने दबाब बढ्यो ।
लडाकु विमानमार्फत जब शनिबार गोली हानेर बेलुन खसालियो, तब बाइडेनले धन्यवाद दिए । उनले भने, ‘उनीहरूले यसलाई सफलतापूर्वक खसाले । म हाम्रा एविएटरहरूलाई बधाई दिन चाहन्छु, जसले बेलुनलाई खसाले ।’
एक अमेरिकी प्रत्यक्षदर्शी एश्लिन प्रोक्स भन्छिन्, ‘किन धेरै मानिसहरु बाहिर जम्मा भएका छन् भनेर म पनि हेर्न बाहिर गएँ । त्यसपछि मैले आकाशमा बेलुन देखेँ, जसको बारेमा मिडियामा लगातार समाचारहरू आइरहेका थिए । जेट विमानले उक्त बेलुनलाई घेरेर वरिपरि घुमेको थियो । एउटा जेटले बेलुनलाई सीधै निशाना बनाएको थियो र केही समयपछि नै त्यो बेलुन फुटेर तल खस्न थाल्यो । बेलुनको अवशेष करिब एघार किलोमिटर क्षेत्रमा छरिएका थिए ।
🚨#BREAKING: Incredible HD footage of the Chinese surveillance balloon being shot down
🚨#MyrtleBeach l #SC
Watch incredible HD video of the moment when the Chinese surveillance balloon was shot down by a single missile from an F-22 fighter jet from Langley Air Force Base pic.twitter.com/KjwTrgcvcb
— R A W S A L E R T S (@rawsalerts) February 4, 2023
चिनियाँ बेलुन अमेरिकाले आशंकाकै भरमा खसालिदिएपछि दुवै देशबीच कूटनीतिक संकट उत्पन्न भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बेलुनले संवेदनशील अमेरिकी क्षेत्रमा जासुसी गरिरहेको आशंका गरेको थियो ।
तर चीनले भने यो जासुसी बेलुन नभएको भन्दै आपत्ति जनाएको छ । उसले मौसम पूर्वानुमान गर्ने बेलुन भएको प्रतिक्रिया दिँदै अमेरिकाको बेलुन खसाउने कार्यलाई ‘गैरजिम्मेवारपूर्ण कार्य’ भनेको छ ।