
काठमाडौं । बंगलादेशमा जारी यू– २० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भूटानसँग खेल्ने भएको छ ।
आफ्नो दोस्रो खेल अन्तर्गत नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा नेपाल र भूटान दुवै पहिलो जितको प्रयासमा हुनेछन् ।
नेपालले यसअघि आयोजक बंगलादेशसँग ३–१ को अन्तरले पराजय भोगेको थियो ।
त्यस्तै भूटान पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो । ऊ भारतसँग १२ – ० गोलले पराजित भएको थियो ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।