
- नारायण अवस्थी
चितवनका किसानले मूल्य नपाएर तरकारी सडकमा फालेको समाचार पढियो। यो फोटो रवि लामिछानेको फेसबुकबाट तानेको हुँ। लामिछानेले पनि किसानले तरकारीको मूल्य नपाएर समस्या पाएको विषयमा लेखेको पढियो।
लामिछानेको चिन्तायुक्त फेसबुक पोष्ट देखेर प्रेमप्रसाद आचार्यबारे पनि लेखेका छन् कि भनेर खोजी गरे तर लेखेको पाइएन। लामिछाने गृहमन्त्री हुँदा इलामका कृषि व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए। यो विषयमा पनि लामिछानेले केही लेख्या छन् कि छैनन् भनेर हेरेको केही लेखेको देखिएन। वास्तविक कृषि व्यवसायीले आत्मदाह गर्दा भावुक नभएको रविको मन टमाटर र बन्दा सडकमा पोख्दा भावुक भयो। भावुक पनि किन नहोस् टमाटर चितवनको हो, आचार्य इलामा थिए।
अब कुरोको चुरो गरौ है। वास्तविक किसानले गाडीका गाडी टमाटर त के मुलाको एक पात सडकमा फाल्न सक्दैन। किन सक्दैन भने त्यो कृषि उत्पादनमा उसको पसिना र पैसा मिसिएको हुन्छ। सपना र बिपना साँचेर फलाएको एक दाना आलु फाल्न सकिन्न भने यति धेरै तरकारी किसानले आफैं फलाएर फाले होलान् भनेर म यो जुनीमा पत्याउनै सक्दैन।
त्यसो भए त्यो तरकारी सडकमा फाल्ने को होलान् त? मेरो अनुमान छ ती किसान पक्कै होइनन्। ती किसानको नाममा दलाली गर्ने दलाल हुन् सक्छन्। तिनीहरूलाई यो पीर हुनुपर्छ कि साना किसानले तरकारी उत्पादन गर्दा आफूहरूको बजारमाथिको कब्जा गुम्छ भन्ने।
चितवनका साना तरकारी किसानले आफैं उत्पादन र बिक्री गर्न थाल्दा आफ्नो तरकारीको साम्राज्य भत्किन्छ भन्ने डरले साना किसानहरूलाई तरकारी खेती गर्नबाट रोक्न चितवनको नाटक मञ्चन भएको न सरकार थाहा पाउँछ न भगवान् दाइले थाहा पाए। तर म दाबीका साथ भन्छु बिचौलियाहरूले बजार कब्जा गर्न यस्तै यस्तै हर्कत गर्छन् र मजाले हामीलाई लुट्छ्न्।
चितवनमा सडकमा तरकारी फाल्ने वास्तविक किसान होइनन्। ती दलाल किसान हुन्। जो कि ठूलो मात्रामा आफैं तरकारी उब्जाउँछ्न कि भारतबाट आयात गरेर बजारमाथि एकाधिकार अनन्त कालसम्म कायम होस् भन्ने चाहन्छ्न्। तर भगवान् दाइ बिचौलियाको पक्षमा भावुक भए, वास्तविक किसानको पक्षमा एक शब्द खर्च गरेनन्।