
काठमाडौं । बालकोट निवास । पुस १० गते । नाटकीय शैलीमा एमाले अध्यक्ष केपि शर्मा ओलीको बुइ अर्थात काँध चढेर माओवादी अध्यक्ष प्रचण्ड नयाँ प्रधानमन्त्रीमा सिंगारिएका थिए ।
प्रधानमन्त्री भएको महिना भरमै प्रचण्डले उनै ओलीको काँध भिजाउन उत्रिएपछि सिंगो गठबन्धनमा चिसो पसेको छ । ओली—प्रचण्डका पछिल्ला भेटवार्ता विस्तारै तिक्ततापूर्ण बन्दै गएका छन् ।
दुवै नेताका सार्वजनिक अभिव्यक्तिमा पनि पछिल्ला दिन हार्दिकता कम मतभेद ज्यादाको स्थिति छ ।
सत्ता गठबन्धनका बाँकी साझेदारहरु रास्वपाका रवि, राप्रपाका राजेन्द्र, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता यी कोही नभए पनि फरक पर्दैन प्रकारको रवैयामा प्रधानमन्त्री प्रचण्ड उत्रिएको दुनियाँले भेउ पाइसकेको छ ।
डेढ महिना अघि मात्रै त हो एमाले अध्यक्ष केपि शर्मा ओलीको निजि निवास बालकोटमा हस्याङ्फस्याङ शैलीमा ठेलठमेल गर्दै भाँतिभाँतिका दल र नेताहरु हुलिए र हुलमुलमै त्यहाँ आकस्मिक नयाँ सत्ता गठबन्धन बन्यो । उता बालुवाटारमा प्रधानमन्त्री देउवाले जिल खाए ।
देउवाको सेंखी झार्न माओवादी अध्यक्ष प्रचण्डका लागि कमालको अश्त्र बनेकाहरु, बिचरो हालतमा पुगेको माओवादीलाई प्राणदान सरह मानिएका सत्ता गठबन्धनका साझेदारहरु अहिले उनै प्रचण्डबाट प्रताडित र उपेक्षित बन्दैछन् । हो, प्रताडित र उपेक्षित ।
गठबन्धनको माउ पार्टी एमाले अध्यक्ष ओली देखि सत्ता साझेदार मित्रहरु रवि, राजेन्द्र, सिके, रञ्जिता कोही बाँकी नराखेर उनीहरुलाई चिढ्याउन किन उत्रिएका छन् प्रधानमन्त्री प्रचण्ड ? कारण खोजिएको छ ।
जब नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत खन्यायो, त्यसयता सत्ता साझेदारहरु भन्दा विपक्षी कांग्रेस प्रचण्डका लागि कम्फर्टेबल लाग्दै गएको छ ।
सत्ता लालसाले ग्रस्त दलहरुलाई कसरी बसमा लिने र आफ्नो कमजोर हैसियतलाई पनि निर्णायक हैसियतमा कसरी खडा गर्ने त्यसको कुरुप डेमो अर्थात नमूना प्रधानमन्त्री प्रचण्डले देखाएका छन् ।
अहिले यस्तो स्थिति छ कि एमाले सत्ता छाड्नेवाला छैन, बरु प्रचण्डको हुर्मत सहनेछ । एमालेको सत्ता लालसा प्रचण्डले मस्त आँकेर बसेका छन् । कांग्रेस सत्ता लालसाकै कारण प्रचण्डमै समर्पित छ ।
कांग्रेसलाई पनि प्रचण्डले आडमै साँचेर राखेका छन् । यी दुई ठूला दलको कमजोरीमा खेल्दै प्रचण्ड दिनप्रतिदिन झन्झन् मस्तिखोर बन्दैछन् ।
उनको मनमौजी बढ्दो छ । कतिसम्म भने रास्वपा र राप्रपासमेत सत्ता लालसामा फसेपछि प्रचण्डले यी नयाँ लालचीहरुको समेत कमजोरीको फाइदा असुलिरहेका छन् ।
(भिडियो)