
जनकपुरधाम । मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका सांसदहरु मन्त्री बनेका छन् भने सत्तारुढ दल माओवादी केन्द्र सरकार बाहिरै बसेको छ ।
दुई मन्त्री मागिएकोमा एउटा मात्र मन्त्री दिइएपछि सरकारमा जान अस्वीकार गर्दै माओवादी सरकारबाहिरै बसेको छ ।
एमालेबाट सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । यसअघि एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधारमन्त्री बनिसकेका छन् ।
यस्तै, मुख्यमन्त्री यादवको दल जसपाबाट सुनिताकुमारी साह सामाजिक विकास र सिंहासन कलावार खानेपानी तथा उर्जा विकास बनेका छन् । जसपाका संजयकुमार यादव यसअघि नै अर्थमन्त्री बनिसकेका छन् ।
यसैगरी जनमतबाट महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्यमन्त्री बनेका छन् भने यसअघि नै बसन्तकुमार कुशवाह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन् । राज्य मन्त्री बन्नेहरुमा एमालेका केशव (राय गृह तथा सञ्चार), जसपाका शेख अब्दुल कलाम आजाद (सामाजिक विकास) र जनमतका सञ्जयकुमार यादव (भूमि व्यवस्था तथा कृषि) रहेका छन् ।