१९ माघ २०७९, बिहीबार

काठमाडौँ । मुस्लिम आयोगले मुस्लिम समुदायलाई पुनः मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन मधेशी आयोग समक्ष अनुरोध गरेको छ ।

यसअघि मुस्लिम आयोगले मुस्लिमहरुलाई मधेशी आयोगबाट हटाउन आग्रह गरेपश्चात् उक्त सूचिबाट हटाइएको थियो । तर हाल पुनः मधेशी आयोगलाई पत्र पठाउँदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीमै राख्न आग्रह गरेको हो । मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउनमा अवरोध देखिएको भन्दै सो अवरोध लाई हटाइदिन अनुरोध गरेको हो ।

मधेशी आयोगद्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो । सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ-संगठनहरुले मधेशी आयोगको उक्त निर्णयप्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिम लाई मधेशीको सूची बाट हटाएको थियो ।

मधेशीको सूची बाट मुस्लिमलाई हटाएपछी अहिले लोकसेवा लगयात विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ ।

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तका अनुसार मधेशी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडी बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीज्यूहरु बाट व्यापक विरोध भएपछी आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सुची बाट हटाएको थियो ।

LIVE TV