
काठमाडौं । उतारचढावपूर्ण राजनीतिक जीवन व्यतित गर्दै आएका घनश्याम भुसाल अन्ततः माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीभित्र संस्थापन पक्षसँग कहिल्यै नजिक बन्न नसकेका भुसाल एमाले छाड्दा पनि यस्तै परिदृश्यले काम गरेको छ । तर, उनको अबको राजनीतिक बाटो कस्तो रहला ?
भुसाल अनेरास्ववियूको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । उनी एमालेभित्र थिङ्क ट्याङ्कको रुपमा समेत परिचित थिए । तर, संस्थापन पक्षसँग उनको सहकार्य हुन नसक्दा सधैं छायामा पर्ने गरेको बताइन्छ ।
तत्कालीन नेकपाको विवादमा माधव–प्रचण्ड समूहमा रहेका उनी अदालतको आदेशसँगै एमालेमै रहे । एमाले विभाजन गरेर छुट्टै पार्टी गठन गर्ने माधव नेपालको निर्णय गलत रहेको बताउने भुसाल अन्तत आफै त्यहि पार्टीमा समाहित हुन पुगेका छन् ।
२०५४ सालमा यीनै माधवबाट अर्का नेता वामदेव गौतमसँगै कारबाहीमा परेका उनी अन्ततः वामदेवसँगै एमालेबाट विद्रोह गरेका थिए । भुसालको चार दशक लामो राजनीतिक करियरको पछिल्ला केहि बर्ष एमाले नेतृत्वसँग पैँठेजोरी खेल्नमा व्यतित भयो ।
परिणाम, गत निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले पार्टी परित्याग गर्नुपर्यो । स्वतन्त्र उम्मेदवारी दिएका भुसालाई तत्कालीन गठबन्धनमा रहेको नेकपा माओवादीले साथ दिएपनि एमाले उम्मेदवारसँगै उनि पराजित भए ।
निर्वाचनपछि उनको पुर्वपार्टी एमाले र उनलाई साथ दिएको माओवादी एकठाउँमा उभिएर नयाँ सरकारको निर्माण भयो, न घरको न घाटको भए घनश्याम ।
एमालेको ढोका बन्द भएपछि उनी एमालेबाटै विद्रोह गरेर बनेको नेकपा एकिकृत समाजवादी पार्टीमा सम्माहित भएका छन् । नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने उनको दावी छ ।
एमाले छाडेका भुसाल कुनैबेला आफैलाई पार्टीबाट कारबाही गरेका माधवसँग पार्टी एकतासँगै सहकार्य गर्न पुगेका छन् । एमालेमा लामो समय व्यतित गरेका भुसालले अघि सारेको कार्यपत्रलाई एमालेको नवौं महाधिवेशनले कार्यदिशाको रुपमा स्विकार गरेको छ । तर, उनी आफै भने त्यहि कार्यदिशालाई छाडेर अर्को पार्टी रोज्न पुगेका छन् ।
एमाले अध्यक्ष ओलीको आलोचनाकै कारण पार्टीबाट बहिर्गमनको बाटो समातेका भुसालको अबको यात्रा एकिकृत समाजवादीबाट अगाडी बढ्ने छ । तर सिद्दान्तमुखि भुसालको राजनीतिक जीवनका लागि नेकपा एस पर्याप्त हुन सक्छ या सक्दैन, हेर्न बाँकी छ ।
अर्कोतर्फ कम्युनिष्ट एकताको नाममा जसपा लगाएतका दलहरुसँग मिल्ने बाटोमा रहेको नेकपा एसमा भुसालले कस्तो स्पेश पाउँछन्, यो चासोको विषय छ ।