
- दान बहादुर बुढा
मुगु । नेपालको ठूलो पर्यटकीय आकर्षणको केन्द्र रारा तालमा हिजोआज पर्यटक चरा आएका छन् । चिसो छल्न भनी आएका यी फिरन्ते चराहरु यहाँको वातावरणमा रमाइरहेका छन् ।
समुन्द्री सतहबाट २ हजार ९७२ मिटर उचाइमा रहेकोे रारा तालमा भारतबाट र तिब्बतको मानसोरोवर तथा साईबेरिया लगायत विभिन्न खाडी मुलुकबाट दर्जनौँको संख्यामा हाँस, जलेउ प्रजातिका चराहरु यहाँ आएका छन् । चराहरुको बाक्लो आगमनले हिजोआज राराको सौन्दर्य बढाएको छ ।
रारामा पाहुना चरा साइबेरियाबाट मंसिरदेखि नै आउन शुरु गरेका हुन्छन् । यो वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा लगायत ४९ प्रजातिका चरा यहाँ आउन थालेका छन् । यी चराहरु वैशाख महिनासम्म रारामा बस्ने र तेसपछि गर्मी बढेपछि मानसरोवर, साइबेरिया लगायत आफ्नो भूमिमा जाने गर्छन् ।
हिजोआज बाहिरबाट आएका र रैथाने गरी ७५ प्रतिशत चराहरु राराको पानीमा खेलिरहेका देखिन्छन् । स्थानिय रारा राष्ट्रिय निकुञ्जमा पाइने चिर, कालीज, वन कुखुरा लगायत अन्य विभिन्न प्रजातिका चरहरुको पनि विगतका वर्षहरुभन्दा अचेल उपस्थिति बढाएका छन् । हिउदको चिसो समयमा बाहिरबाट रारामा आउने चरहरुको संख्या पनि यसपालि निकै बढिरहेको स्थानीय बिर्ख बहादुर रोकायाले बताए ।