
- राज दयाल
ओखलढुंगा । ओखलढुंगाबाट धरानतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको छ ।
आज (बुधबार) विहान झन्डै ११ः४० बजेको समयमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ हिलेपानी स्थित सिद्धिचरण लोकमार्गमा गाडी दुर्घटना भएको हो ।
चालक सहित १४ जना सवार १–०१–००७ ज ००१५ नम्बरको उक्त फोर्स गाडी सडकमा कुदिरहेको अवस्थामा अचानक अनियन्त्रित भई सडककै भित्तातिर ठोक्ँिदा दुर्घटना भएको थियो । दुर्घटनामा परि झापाको गौरादह नगरपालिका ७ का ४४ वर्षीय रेवतीप्रसाद धमला, चिसंखुगढी गाउँपालिका १ का ४५ वर्षीया नैनाकुमारी खड्का र चिसंखुगढी ३ का २४ वर्षीय चालक खगेन्द्रकुमार घिमिरे गम्भीर घाइते भएका छन् ।
उनिहरुको अनुहार, टाउको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको बताईएको छ । त्यस्तै अन्य घाइतेहरुमा सि.न.पा ४ का ३ वर्षीय युवराज कट्वाल, सोहि ठाउँका ६० वर्षीय जितबहादुर कट्वाल, चिसंखुगढी गाउँपालिका ६ का ६२ वर्षीया ईन्द्रकुमारी खड्का र सोहि ठाउँका ६२ वर्षीय गोविन्दबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित आस्था अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुशार गाडीमा सवार अन्यको अवस्था भने सामान्य रहेको छ ।
घटना बारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।