१८ माघ २०७९, बुधबार
  •  हरिशंकर शर्मा

वीरगंज। भारतीय सीमावर्ती सहर रक्सौलमा घरायसी सामान किनमेल गर्न शनिबारको दिन सरकारी गाडी लगिएको पाइएको छ ।

सार्वजनिक विदाको दिन शनिबार सरकारी गाडी कार्यालय प्रमुख तथा मेयरका आफन्तले किनमेलको लागि भारतीय सिमावर्ती सहर रक्सौल लगेको पाइएको हो।

स्थलगत अनुगमनको क्रममा भारतको रक्सौल स्थित भारतीय आयल कर्पोरेशनको दक्षिणपट्टि रहेको सवारी पार्किङ्गमा दुईवटा सरकारी गाडी पार्किङ्ग गरेको अवस्थामा फेला पारेका थियौं ।

बा. २ झ ४४३६ र मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको सरकारी गाडी पार्किङ्ग स्थलमा पार्क गरि राखिएको थियो । बा। २ झ ४४३६ नम्बरको हाफ बडि स्कार्पियो यहाँको एक गाउँपालिकाको रहेको जानकारी प्राप्त भएको छ भने मधेश प्रदेश ०३–००१ झ ००८२ नम्बरको स्कार्पियो पनि पर्सा जिल्लाकै कुनै पालिकाको गाडी रहेको थियो । दुबै गाडीमा महिला सवार भई घरायसी सामान किनमेल गर्न रक्सौल बजार पुगेका थिए । यस विषयमा गाडी लिएर आएका सवारी चालकसँग बुझ्दा आफूले केही नगरेको, जसले गाडी ल्याएको छ उसैसँग गएर बुझ्न भनि त्यहाँबाट फरार भएका थिए ।

यी त उदाहरणको पात्र मात्रै हुन्, पर्सा जिल्लामा रहेका १४ वटा पालिकाहरुमध्ये सीमावर्ती क्षेत्रमा पर्ने अधिकाँश पालिकाको गाडी भारतीय सिमावर्ती सहरमा पुग्ने गरेको पाइन्छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा त तस्करहरुले ल्याउने सामान भन्दा पनि बढि सामान लोड गरेर खुलेयाम मुख्य भन्सार हुँदै ल्याउने गरेको सहजै देख्न सकिन्छ । सरकारी नम्बरको गाडी लिएर सिमावर्ती सहरमा सामान किनमेल गर्न जाँदा सुरक्षाकर्मीले रोकटोक नगर्ने, जतिपनि सामान किनेर ल्याए पनि चेकजाँच नहुने, त्यसमा पनि आफ्नो निजी खर्च पनि नहुने कारणले गर्दा जनप्रतिनिधि तथा कर्मचारी पत्निहरु सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइन्छ ।

सम्बन्धित नियामक निकाय जिल्ला प्रशासन कार्यालयको कमजोरीको कारण पनि जिल्लाका पालिकाहरुको आफ्नो निजी कामको लागि जनप्रतिनिधिका आफन्त एवं प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुका श्रीमतीले गाडी लिएर घरायसी सामान किनमेल गर्न रक्सौल पुग्ने गरेका छन् । यसो पनि शनिबारको दिन सरकारी गाडी चलाउन नपाइने नियम रहेको अवस्थामा पालिकाको गाडी शनिबारको दिन सामान किनमेल गर्न सिमावर्ती सहर पुग्नुले त्यहाँको जनप्रतिनिधि एवं कर्मचारीहरुको कार्यशैलीलाई प्रष्टाएको छ ।

यसो पनि पर्सा जिल्लाको स्थानीय पालिकाहरुका जनप्रतिनिधि एवं कर्मचारी श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गरेको यो पहिलो कुरा होइन, पटक पटक यो विषयको उठान गरिएको छ तर सम्बन्धित निकायको लाचारीपनको कारण सरकारी गाडी दुरुपयोगमा कमि हुनुको साथै झन बढ्दै गएको पाइन्छ । यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले श्निबारको दिन पास नलिईकन कुनै पनि सरकारी गाडी संचालन गर्न नपाइने भन्दै त्यस्तो पाइएमा ट्राफिकसँग समन्वय गरि नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा फर्काइने बताए ।

सामान्यता सरकारी विदामा सरकारी गाडी चलाउन पाइँदैन, तर कुनै यस्तो कार्यालय हुन्छ, फिल्डमा जानुपर्ने हुन्छ, शान्ति सुरक्षा कायम गर्न जानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा जिल्ला प्रशासन कार्याल्यबाट सवारी पास जारी गरिन्छ र त्यसले मात्रै गाडी चलाउन पाउँछ तर यसरी अनुमति नलिई सरकारी विदाको दिन चलाउने गाडीलाई कारवाही गरिने उनको भनाई छ । परिवार घुमाउने सन्दर्भमा शनिबारको दिन परिवारलाई पनि लैजान नपाउने उनको भनाई छ तर यहाँ सरकारी गाडी परिवारको सदस्यहरुलाई सयर गर्नका लागि बढी प्रयोग गर्ने गरिएको पाइएको छ ।

 

LIVE TV