
- गगन अयडी
बाजुरा । भूकम्पका कारण बाजुराका सर्वसाधारण कष्टकर जीवन व्यतित गर्न बाध्य बन्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण स्थानीय विस्थापित बन्न पुगेका छन् ।
पालमूनी बास बस्नु पर्ने बाध्यतामा रहेका स्थानीयहरुलाई सरकारले उचित राहतको व्यवस्था गर्न नसक्दा उनीहरुको दैनिकी थप कठिन बन्दै गएको छ ।
माघ १० गते गएको भूकम्पबाट सबैभन्दा बढी बाजुरा जिल्लाका गौमुल गाँउपालिकामा धनजनको क्षति भएको थियो ।
भूकम्पबाट १३ वटा घर पूर्ण रूपमा भत्किए भने ३५ वटा घरमा आंशिक क्षति भएको छ ।
भुकम्पका कारण सो क्षेत्रका स्थानीय खुला आकाशमा पाल टागेर बस्न बाध्य छन् । तत्काल विस्थापित परिवारका लागि गाउँपालिकाले केहि पाल कम्बल लगायतका सामाग्री वितरण गरेको थियो ।
पाल र छिमेकीको घरमा आश्रय लिएर बसेका पीडितहरू लगातार चिसोले गर्दा थप समस्यामा परेका छन् ।
खुला आकाशमा दिन विताई रहेका परिवारमा गर्भवती महिला अपाङ र बालबलिकाहरुलाई अहसज रहेको स्थानीयको भनाइ छ । चिसोका कारण बालबालिकाहरू निमोनियाको विरामीले दिन प्रतिदिन विरामी पर्न थालेको उनीहरुको दुखेसो छ ।
पालिकाको जडे गाउँमा १८ परिवार घरबिहिन बनेका छन । तत्कालका लागि वडा र पालिकाको असमन्वयमा पाल लगायतका साम्रग्री वितरण गरिएको र थप सहयोगका लागि छलफल भइरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । गाँउपालिकाले समेत उक्त स्थानका घरहरु बस्न लायक नभएको बताएको छ ।
गाउँपालिकामा १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । चिसोले दैनिक जीवन कष्टकर बन्न थालेपछि सरकारले आवश्यक तयारी थालेको बताएको छ ।
हिउँदको समय चिसोले पालमुनी बस्दा त्यहाँका बुढाबुढी, गर्भवती, सुत्केरी महिला र बालबालिकाहरु प्रभावित भएका छन । भुकम्प पिडीतहरुले अहिलेसम्म राहत साम्रगी समेत नपाएको गुनासो गरेका छन् ।