१७ माघ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता राजनीति थप अन्योलग्रस्त बनेको छ । अहिलको सत्ता समिकरणमा फेरबदल हुनेसम्मका आशंका र बहसबाजी चलिरहेका छन् । यहिबीचमा गृहमन्त्रालय नपाए सरकारबाटै बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चेतावनी दिएको छ ।

रास्वपा सभापति रवि लामिछानेको नागरिकतालाई सर्वोच्चले अवैध ठहर गरेपछि उनी एकाएक सबै पदबाट मुक्त भएका थिए । प्रकृया पूरा गरेर नागरिकता लिनासाथ लामिछाने पुनः पार्टी सभापति हुँदै गृहमन्त्री पदमा फर्कन आतुर छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेरै आफ्नो पूर्ववत हैसियत अर्थात गृहमन्त्री माग गरेका छन् । तर प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्रालय माओवादीमै राख्न प्रयत्नरत छन् । रविलाई फेरि गृहमन्त्री बनाउने जोखिम मोल्न प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन् ।

नागरिकताको विवाद हुँदाहुँदै गृहमन्त्री पदमा आसिन हुनु नै गल्ती भएको भन्दै अब फेरि राहदानी दुरूपयोगको आरोप नसल्टिदै त्यो पनि गैरसांसदको हैसियतमा मन्त्री बन्नु अर्को गम्भीर गल्ती हुने तर्क अघि सारिएको छ ।
यता आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने निर्वाचन आयोगको घोषणा आएपछि दलहरुको दौडधूप अब निर्णायक मोडतर्फ अघि बढ्ने छ । राष्ट्रपति निर्वाचनमा सत्ता समीकरणमै फेरबदलको सम्भावनाबारे चर्चा चलिरहँदा रास्वपाले गृह नपाए सरकारबाटै बाहिरिने चेतावनी दिए पछि राजनीतिक स्थिति आंकलन भन्दा बाहिर जाने संभावना बढेको छ ।

प्रधानमन्त्री पदमा कांग्रेस र माओवादीबीच भएको हानथापका कारण तत्कालीन सत्ता गठबन्धन भत्किएको थियो । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पदमै विश्वासको मत दिएर कांग्रेसले अर्को रणनीतिक दाउपेच थालेको थियो । कांग्रेसको पहिलो प्रयास सभामुख पदका लागि थियो, जुन कामयाव हुन सकेन । अहिले राष्ट्रपति पदमा कसैगरी बाजी मार्ने दाउमा छ कांग्रेस । आफ्ना भागमा राष्ट्रपति पार्न नसकेपनि कम्तिमा एमालेका भागमा त्यो पद छाड्न कांग्रेस कुनै पनि हालतमा तयार छैन । कांग्रेसको यो चाहनामा प्रधानमन्त्री प्रचण्ड पनि सहमत छन् । माओवादी पनि एमालेलाई राष्ट्रपति पद छाड्न पटक्कै तयार छैनन् ।

आलांकालिक पद भएकाले जति सहज रुपमा राष्ट्रपति छनोट हुनुपर्ने हो, त्यसको उल्टो भैरहेको छ । राष्ट्रपति पदलाई दलीय फाइदाका लागि उपयोग गर्ने प्रचलन बढेपछि यो पदमा दलहरुको चर्को हानथाप देखिएको हो । विगतमा राष्ट्रपति पदमा आसिन भएकाहरूले मन्त्रिपरिषद्को निर्णय उल्ट्याउने देखि संसद्ले पारित गरेको विधेयक रोकेर आफ्नो दल अनुकुल निर्णय लिने अभ्यासका कारण राष्ट्रपति पदको गरिमा घटेको छ तर दलहरुको गिद्धे दृष्टी यो पदमा बढेको छ ।

पछिल्ला ताजा सन्दर्भहरुमा बहस र संवाद गर्न ‘द डिबेट’मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई निम्त्याएका छौँ । आउनुहोस् आजका अतिथिलाई स्वागत गरौं :

हेर्नुहोस् द डिबेट:

LIVE TV