
- अस्मिता तिवारी
काठमाडौँ । खासमा कुनै पनि औषधी सेवन गर्दा चिकित्सकको सिफारिस अनिवार्य मानिन्छ । औषधी पसलहरुले पनि चिकित्सकको सिफारिस गरे अनुसार मात्रै औषधी दिनु पर्ने नियम छ । तर हामीकहाँ धेरैजसोले अस्वस्थ हुने वित्तिकै दौडेर औषधी पसलमा गई औषधी लिने र सेवन गर्ने प्रचलन छ । र, औषधी विक्रेताहरुले पनि अनुभवी चिकित्सकले झैँ थरिथरिका औषधी भिडाउने गर्छन् । त्यसैले चिकित्सकको परार्मश बिना मनोमानीरुपमा एन्टीबायोटिकको प्रयोग अत्याधिक हुने गरेको छ । यसरी प्रयोग गरिएका एन्टिबायोटिकले भविष्यमा स्वास्थ्यमा ठूलो असर पु¥याउने जानकारहरु बताउँछन् ।
विश्वमा करिब ७ लाख मानिसको जभाभावी एन्टिबायोटिक प्रयोगका कारण मृत्यु हुने गरेको छ । समयमै नियन्त्रणका लागि ठोस कदम नचाले सन् २०५० सम्ममा एन्टिबायोटिकको मनलाग्दी प्रयोगका कारण विश्वमा मृत्यु हुनेको संख्या वार्षिकरुपमा एक करोड पुग्ने विश्व स्वास्थ्य सङगठनको अड्कल छ ।
नेपालमा भएको विभिन्न अध्ययनमा चिकित्सकको परार्मश बिना एन्टिबायोटिक बिक्रि दर ५० प्रतिशत छ भने दुर्गममा ५० दशमलव ४ प्रतिशत भएको देखिएको छ । त्यस्तै, हेल्थपोस्टहरुमा यो दर ५२ दशलमव २ प्रतिशत छ । स्वास्थ्यकर्मीको परामर्शविना आफै किनेर खाने ६७ देखि ९७ प्रतिशत तथा फार्मेसीले चिकित्सकको सिफारीसबिना दिने दर ५० प्रतिशत छ । एन्टिबायोटिकको प्रयोग गर्ने मध्ये करीब ४० प्रतिशतले बीचमै खान छोड्ने गरेका छन् ।
नेपाली बजारमा करिब ३ सय ६५ ब्रान्डका एन्टिबायोटिक उपलब्ध छन् । देश भित्रै पनि करिब ५० कम्पनिले एन्टिबायोटक औषधिको उत्पादन गर्ने गरेका छन् । नेपालमा मात्र नभएर विश्वभर नै एन्टिबायोटिकको अत्याधिक प्रयोग हुने गरेको छ । बढ्दो एन्टिबायोटिकको प्रयोग भविष्यमा चिकित्सा क्षेत्रमा गम्भिर चुनौति बन्ने जानकारहरुको तर्क छ ।
एन्टिबायोटिककको अत्याधिक प्रयोग हुँदा लक्षित सूक्ष्मजीवले प्रतिरोधी क्षमता विकास गर्ने र तिनले गराउने अन्य समस्याले जटिलता निम्त्याउने गर्छ । चिकित्सकको सल्लाहबिना नै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिबायोटिकको प्रयोग गर्दा टाइफाइड र औलोजस्ता रोग लाग्दा बिरामीको उपचार गर्न कठिन हुने चिकित्सकको भनाई छ ।
एन्टिबायोटिकको बढी प्रयोग गर्दा, धेरै प्रकारका एन्टिबायोटिक प्रयोग गर्दा, पुरा नखाँदा म्युटेसन परिवर्तन भइ नयाँ व्याक्टेरियाको उत्पत्ति हुन्छ । यसरी पुन उत्पन्न भएका व्याक्टेरिया झन शक्तिशाली हुने हुँदा औषधि उपचारमा जटिलता उत्पन्न हुने चिकित्सकको भनाई छ ।