१७ माघ २०७९, मंगलवार

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि नेपालमा पहिलो भ्रमणको बाजी मार्न अमेरिका सफल भयो । अमेरिकी विदेश मन्त्रालयकी उपमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमण लगत्तै अर्का अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउने तय भएको बताइएको छ । कम्युनिष्ट नेतृत्वको सरकार गठन, परराष्ट्र सम्बन्ध, आन्तरिक राजनीति र आसन्न राष्ट्रपति निर्वाचनको परिवेशमा शक्ति राष्ट्रहरुको यो आकर्षणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले सोमबार उच्चस्तरिय भेटवार्ता गरिन् । उनले प्रधानमन्त्री प्रचण्डदेखि परराष्ट्रमन्त्री विमला राई पौडेल, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीसँग भेटिन् ।

न्युल्याण्डको भ्रमण नेपालमा नवगठित सरकारसँग द्विपक्षीय साझेदारी लगायत वृहत् विषयमा छलफल गर्न भएको बताइएको छ । नयाँ सरकार गठनपश्चात कुनै पनि मित्रराष्ट्रबाट भएको यो पहिलो भ्रमण हो । गत पुस ३० गते सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो भ्रमण भारतबाट हुने र आफु पनि भारत भ्रमणको योजनामा रहेको बताएका थिए । भारत वा चीनबाट कुनै औपचारिक भ्रमण हुनुअगावै अमेरिकाको यो भ्रमणलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

न्युल्याण्ड लगत्तै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर पनि ५ फेबु्रअरीदेखि नेपाल भ्रमणमा आउने तय भएको जनाइएको छ । पछिल्लो अमेरिकी चासोलाई देशमा बदलिँदो राजनीतिक परिवेश र आसन्न राष्ट्रपति निर्वाचनसँग जोडेर हेरिएको छ ।

त्यसो त परराष्ट्रका जानकारहरु सरकार परिवर्तन र विदेशी मित्रराष्ट्रहरुको चासोलाई स्वभाविक मान्छन् । तर नेपालको भुराजनीतिका कारण भारत, चिन र अमेरिकाको चासो तुलनात्मक रुपमा बढि हुने गरेको छ । कम्युनिष्ट नेतृत्वको सरकारलाई खासगरी दक्षिणी छिमेकी भारत र अमेरिकाले रुचाएको पाईँदैन । जबकि वाम शक्तिको नेतृत्वमा सरकार गठन भएलगत्तै नेपाल–चिन रेल्वेको सम्भाव्यता अध्ययनका लागि टोली पठाएर चिन आफु सकरात्मक रहेको सन्देश दिइसकेको छ ।

विगतमा एमसीसी, एसपीपी लगाएतका सहयोग नियोगहरुका माध्यमबाट नेपालमा प्रभाव छाड्न प्रयासरत अमेरिका, कम्युनिष्ट नेतृत्वको सरकारसँगपनि सहज हुने प्रयास गरिरहेको देखिन्छ । नेपालको भुराजनीतिको महत्व र शक्ति राष्ट्रहरुको चासोलाई सन्तुलित राख्ने साहस नेतृत्वले गर्नुपर्ने जानकारहरु बताउँछन् ।

खासगरी संसदबाट एमसीसी पारीत भएपछि अमेरिकी उच्च तहबाट नेपाल भ्रमण बाक्लिएको छ । नेपालको कम्युनिष्ट शक्तिहरुसंग उठबस गर्न रुचाउने चिनियाँ पक्षले भने यसलाई उति रुचाएको पाइँदैन । यी राष्ट्रहरुबिच प्रभाव जमाउने होडबाजी चलिरहँदा दक्षिणी छिमेकी भारत पनि यसमा रोटी सेक्ने दाउ गरिरहेको छ । आन्तरिक राजनीतिमा शक्तिकेन्द्रको चासो रहनुले नेपालको भु–राजनीति कति महत्वपुर्ण छ भन्ने स्पष्ट हुन्छ । तर शक्तिकेन्द्रको प्रभावमा राजनीतिक नेतृत्व सजग हुन नसक्दा अनावश्यक हस्तक्षेपको भूमरीमा नेपाल पर्दै आएको छ ।

LIVE TV