१६ माघ २०७९, सोमबार

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले महाकाली अस्पताल र बाल अनाथालयमा खाद्यान्न तथा फलफूल वितरण गरेका छन्।

सोमबार शहीद दिवसका अवसरमा उनले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीहरू र महेन्द्रनगरकै महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न र फलफूल वितरण गरेका हुन्। मुख्यमन्त्री रावलले अस्पतालको वार्डमा पुगेर बिरामीहरूलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामनासमेत गरे।

त्यसैगरी अनाथालयमा रहेका बालबालिकाका लागि कापी, किताब र खाद्यान्नसमेत हस्तान्तरण गरेका हुन्। उनले शहीद दिवसका अवसरमा बिरामी र अनाथ बालबालिकालाई सरकारले सम्झिएको बताए। “प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ”, उनले भने, “अहिले विश्वासको मत पाउन बाँकी छ, सरकारको पूर्णता पछि सरकारले गर्ने कामले गति लिनेछ ।” उनले महाकाली अस्पतालको निरीक्षण गर्दै अस्पतालका समस्या समाधानका लागि आफूले पहल गर्ने बताए।

“२०६२–६३ को आन्दोलनका बेला म आफैँ पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिए यहाँका सबै समस्या मैले बुझेको छु”, मुख्यमन्त्री रावलले भने, “अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवाका लागि केन्द्र सरकारसँग पहल गर्छु ।”

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे। “हामीसँग पर्याप्त जनशक्ति छैन भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन”, उनले भने, “यहाँ डाक्टर अभावकै कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।”

त्यसैगरी मुख्यमन्त्री रावलले शहीद दिवसका अवसर पारेरै महेन्द्रनगरस्थित शहीद दशरथ चन्दको सालिकमा समेत माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

LIVE TV