१६ माघ २०७९, सोमबार

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ  माघ १८ गते (पर्सी)का लागि बोलाउने निर्णय गरिएको हो । यसअघि साे बैठक १७ गते (भोली)का लागि तय गरिएकाे थियाे ।

पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोली पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘हामीले आज पदाधिकारीको बैठक बस्ने हिजो र अस्ती होमवर्क गरेको कुरालाई यहाँ टुंगो लगाएर भोली स्थायी समिति बैठक बस्ने सेड्युल थियो । आज पनि छलफल चल्यो । यो होमवर्क अझै टुंगिएको छैन । त्यसकारण आज र भोली होमवर्क गर्ने पर्सी स्थायी कमिटी बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो । यति मात्रै हो आज । पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा हो । आज संगठन सम्बन्धि विषयमा पनि मात्रै छलफल भयो । त्यो टुंगिएको छैन ।’

नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमती जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोली बोलाइएको स्थायी समिति बैठक पर्सीसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताउनु भयो ।

LIVE TV