१६ माघ २०७९, सोमबार
  • इन्दिरा चाम्लिङ

काजब्लांका क्यासेल्लो । तामाङ समाज बेल्जियमद्वारा आयोजित २८५९ सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

यहाँको स्थानीय समयअनुसार हिजो साँझ बेल्जियमस्थित क्यासेल्लो शहरमा सोनाम ल्होछार सम्पन्न भएको हो । बुद्ध धर्मका गुरुहरूको विशेष उपस्थिति र प्रवचनसहित उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बेल्जियमको ब्रुज, ब्रसेल्स, एन्टरपेन, हेरेन्ट र लुभेन सहरका तामाङ समुदाय तथा अन्य नेपालीहरू एकै ठाउँमा भेला भएर सामुहिक रूपमा सोनाम ल्होछार मनाएका थिए । बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिले हाम्रा सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन गर्न पर्ने कुरामा जोड दिए ।

राजदूतले सांसारिक मोह भन्दा पनि सबैले मिलेर सांस्कृतिक जरालाई जोगाउन सक्नुपर्ने बताए । बुद्ध धर्मालम्बीहरुको ध्वजाहरू अग्लो ठाउँमा टाँगिइने र ध्वजा जति हावाले हल्लाउन थाल्छ त्यति नै ध्वजामा भएका राम्रा कुराहरू धर्तीमा छरिने, फैलिने र सबैलाई सुख, शान्ति समृद्धि मिल्ने पनि उनले बताए ।

आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान मगरले तामाङ समुदायलाई मगर पुर्खाहरूले विगतमा गरेको भूलप्रति क्षमा याचना गरे । अध्यक्ष मगरले तामाङ समुदाय हजारौँ वर्षबाट नेपालमा बसोबास गरिरहेको कुरा उल्लेख गर्दै नेपालमा उनीहरूको पुरानो इतिहास रहेको पनि चर्चा गरे ।

एनआरएन बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले ल्होछार कार्यक्रममा तामाङ समुदायको संस्कृतिलाई संरक्षण गर्न र नयाँ पिढीलाई सिकाउन पनि सकिने भनेर आयोजकलाई धन्यवादसहित शुभकामना दिए।

कार्यक्रममा खेम्पो तामाङ रिम्पोछे धर्मगुरूले निकै अर्थपूर्ण मन्त्रहरूको व्याख्या गर्दै मानिसहरूले सांसरिक सुख भोगको मोहभन्दा पनि आफ्नो धर्म र संस्कृति जोगाउनमा विशेष ध्यान दिनुपर्ने महत्वपूर्ण संदेश प्रवाह गरेका थिए ।
आयोजक समितिका अध्यक्ष राम लामाले यस पटक विगतमा भन्दा अलिक फरक ढंगबाट कार्यक्रम गरिएको बताए ।

अध्यक्ष लामाले मनोरञ्जन मात्र दिलाउने होइन ज्ञान दिलाउने हेतुले, धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्बर्दन र जगेर्ना गर्ने , गुरुहरूबाट ज्ञान प्राप्त गर्ने हेतुले यस पटक यस्तो किसिमको कार्यक्रम आयोजना गरेको बताए ।

बेल्जियममा बसोबास गर्ने गैर तामाङ समुदायका नेपालीहरू पनि उत्साहित भएर ल्होछार मनाउन उपस्थित थिए । उक्त कार्यक्रममा नेपालीहरूले सामुहिक रूपमा शान्तिको दिप बाले र धर्म गुरूबाट वाङ थापेर आशिष लिए ।

समाजका अध्यक्ष राम लामा, राजदूत र धर्म गुरू खेम्पो तामाङ रेम्पोछेले सामुहिक रूपमा द्विप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरे । अनिता लामा, कमला तामाङ, लालिङ तामाङले अतिथिहरूलाई खादा लगाएर सम्मान गरे ।

संस्थाका सचिब महेन्दो वाइवाले सबैलाई स्वागत गरे भने कार्यक्रम संचालन महासचिब चन्द्र ब्लोनले गरेका थिए िदोस्रो चरणको सांस्कृतिक कार्यक्रम लालिङ तामाङले गरिन् ।

मौलिक, परम्परागत भेषभुषा र गरगहनामा सजिएर तामाङ समुदायका सदस्यहरूले कार्यक्रममा विशेषगरी धादिङ र नुवाकोटमा नाचिने नृत्य मेन्दोमाया, मानेदोरा भाकामा नाचेका थिए । डम्फु तामाङ समुदायमा लोकप्रिय, प्रमुख बाजाको रूपमा प्रयोग किन गरिन्छ भनेर कार्यक्रम सन्चालनको क्रममा लालिङ तामाङले प्रष्ट पारिन्।

संस्थाका अध्यक्ष राम लामाका अनुसार लोछार ग्रहदशा नलागोस् , रोगव्याधी नलागोस् र अन्नबाली राम्रोसँग फलोस् फुलोस्, भन्ने कामना सहित पुर्खाको सम्झना गर्दै नयाँ बर्षको उपलक्ष्यमा मनाउने गरिन्छ । उनले संस्कार र संस्कृति जोगाउन सके मात्र अस्तित्व जिवन्त रहन्छ भन्ने कुराको आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताए ।

मनोरन्जन गर्न मात्र नभई तामाङ संस्कार र संस्कृतिलाई संरक्षण गर्न र अन्य समुदायसंग आत्मियता र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन कार्यक्रमको आयोजना गरिएको प्रष्ट्याए । लोछार तामाङ समुदायको मात्र नभएर नेपालकै राष्ट्रिय चाड हो, राष्ट्रिय सम्पदा हो भन्दै यसको संरक्षण र संवर्द्धन गर्न संपूर्ण नेपालीहरूको दायित्व भएको बताए । कार्यक्रममा चन्द्र व्लोन र इन्दिरा चाम्लिङले समय शान्दर्भिक कविता र मुक्तक वाचन गरे ।

फूलमाया तामाङलगायत ब्रुजबाट आएका समूहबाट बौद्ध परम्परा अन्तर्गत टिबेटियन महायानी सूत्रहरू, भगवान् बुद्धको वचनहरू वाचन गरेर मंगल मैत्रीको कामना गरिएको थियो । उनीहरूले टिबेटियन भाषाको मन्त्र पाठ गरी कार्यक्रम शान्त, सभ्य र भव्य बनाई सबैलाई मन्त्रमुग्ध पार्न सफल भए।

स्वागत मन्तव्यका क्रममा सचिब महेन्दो वाइवाले हामी एक फूलबारीबाट संसारका विभिन्न मुलुकमा पुगेर फुलेका फूलहरू हौं । हामीले हाम्रो कला संस्कृतिलाई बोकेर हिंडेका छौँ । यही नै आफूहरूको विशेष्ता भएको बताए । ल्हो भनेको वर्ष र छार भनेको नयाँ भनेर लोछारको अर्थ नयाँवर्ष हुन्छ भन्ने कुरा खुलाए ।

एनआरएन अध्यक्ष खड्ग केसीले शुकामना मन्तव्यका क्रममा नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले नेपाल धनी भएको भन्दै विदेशमा पनि यस्ता कार्यक्रमको आयोजनाबाट नयाँ पुस्ताले पनि हाम्रो कला,भाषा र संस्कृति के कस्तो छ भन्ने कुरा सिक्ने मौका पाउने बताए ।

तामाङ समाजले आयोजना गरेको उक्त २८५९ सोनाम ल्होछार तावर ल्हो (बिरालो बर्ग)० कार्यक्रममा सहभागी भई अतिथिहरू लगायत सहभागी नेपालीहरूले खेम्पो तामाङ रिम्पोछे गुरूबाट वाङ लिएका थिए । सो कार्यक्रम विगतका वर्षहरूमा भन्दा अलिक पृथक र सन्देशमुलक रहेको थियो । ईना लामा ,अन्जिता लामा लगायत स्थानीय कलाकारहरूको निकै आकर्षक नृत्य प्रस्तुत गरेका थिए । तामाङ भाषाको गीतमा युरोपमा जन्मिएका बालबालिका युवा, युवतीले सुन्दर सामूहिक नृत्य गरेका थिए ।

 

LIVE TV