१६ माघ २०७९, सोमबार

काठमाडौं । झापाका एक सामान्य परिवार । जसको नाममा ८ कठ्ठा १२ धुर जमिन मात्रै छ । यहि जमिनमा हुने खेतीबाट दाल चामलको जोहो हुन्छ । ९ वर्षअघि ३ लाख रुपैयाँ ऋणका लागि जमिन बन्धकी राख्ने भनेर त्यो परिवारका मूली मालपोत गएका रहेछन् । ऋण तिरिसकेपछि जमिन फिर्ता दिने भन्ने सम्झौता थियो । तर अहिले जमिन बन्धकी राख्नेले नै जालझेल गरेर खाइ दिएका छन् । घरमूलीको निधन भइसकेको छ । जमिन अहिले स्थानीय वाईसीएलका नेताको हकमा पुगिसकेको छ । ती नेताले घरमूलीका छोरालाई जमिन छाड्न दिनहुँ दबाब दिन्छन् । जनताको घरबास उठाएर वाईसीएलका नेता कस्तो राजनीति गरिरहेका छन् त ? यस्तो छ वाईसीएल नेताको कर्तुतः

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका एक नेताले झापामा एक सामान्य परिवारको नाममा भएको घरजग्गा खोस्ने प्रयत्न गरेपछि त्यो परिवार घरबारविहीन हुने अवस्थामा पुगेको छ । शिव सताक्षी नगरपालिकाका महानन्द नेपालको घर र जमिन उनको पैतृक सम्पत्ति हो । तर यो घर जग्गा छाडेर जान वाईसीएलका नेता डम्बर पुलामीले बारम्बार दबाब दिइरहेका छन् । नेता पुलामीसहितका अन्य व्यक्तिहरुले समेत नेपाल परिवारलाई घरजग्गा छाड्न दबाद दिन थालेपछि यो परिवार अहिले तनावमा छ । नेपाल परिवारको जमिनविरुद्ध धोकाधडीको शृंखला महानन्दका बाबु भवानीशंकर नेपालको पालामै सुरु भएको थियो । भवानी शंकरले ९ वर्ष अघि छिमेकी खड्गबहादुर काम्बाङसँग तीन लाख रुपैयाँ ऋण लिएका थिए । ऋणका लागि काम्बाङले जग्गा धितो राख्न भने । जमिन धितो राख्ने भनियो र लिएको ऋण फिर्ता भएपछि जमिन पनि फिर्ता हुने आश्वासन पनि काम्बाङले दिए । तर मालपोतमा रजिष्ट्रेसन नै पास गरेर काम्बाङले आफ्नै नाममा पारे ।

दूधे बजारबाट सात सय मिटर दक्षिणमा पर्ने वडा नम्बर ११ को आठ कठ्ठा १२ धुर जमिनको प्रचलित मूल्य लाखौं छ । तर त्यही तीन लाख रुपैयाँ ऋण दिएर काम्बाङले भवानी शंकरको सबै जमिन खाइ दिए । काम्बाङसँग ऋण लिँदा तीन वर्षमा तिरिसक्नु पर्ने भाखा राखियो । यो कारोबारलाई घरायसी ढंगले कागज पनि गरिएको छ । यस्तो कागजमा ऋण फिर्ता गरेपछि घर जग्गा फिर्ता गर्ने उल्लेख छ । तीन वर्षपछि भवानी शंकरका छोरा ब्याजसहित काम्बाङलाई ऋण बुझाउन पुगे । तर कम्बाङले त्यो रकम लिनै मानेनन् । किनभने त्यसबेलासम्म काम्बाङले भवानी शंकरको जमिन अरु नै कसैलाई बेचेर बेइमानी गरिसकेका थिए ।

भवानी शंकरको कित्ता नम्बर २७०१ (ख) र २८९४ (ख) को जग्गा खड्ग बहादुरबाट अशोक कुमार कोइराला, सुरजकुमार बस्नेत हुँदै अहिले हिमालिम्बू र हरिमाया पौडेलको संयुक्त नाममा आएको छ । हिमा लिम्बूको संरक्षकमा श्रीमान् डम्बर पुलामी बसेका छन् । उनी नेकपा माओवादीनिकट वाइसिएल नेता हुन् ।

सत्तारुढ दलका भातृ संगठनका नेता पुलामीले अहिले नेपाल परिवारलाई आफ्नो पैतृक सम्पत्तिबाट हट्न दबाब दिइरहेका छन् । तर जमिनको यो खरिद बिक्री नै अवैध हुने सम्भावना तर्फ अघि बढेको छ । पछिल्लो पटक ०७६ मा शिवसताक्षी नगरपालिकाको न्यायिक समितिमा भवानी शंकरका छोरा महानन्दले उजुरी दिएका थिए । खड्ग बहादुरले ११ भदौ ०७६ मा तीन महिनाभित्र जग्गा फिर्ता गराउने प्रतिबद्धतासहित कागज समेत गरेका थिए । यद्यपि अहिले सम्म जग्गा फिर्ता गरेका छैनन् ।

भवानी शंकरको दुई वर्षअघि असोजमा मृत्यु भयो । त्यसयता वाईसीएल नेता पुलामीले पीडित नेपाल परिवारलाई बारम्बार घर खाली गर्न धम्की दिइरहेको छिमेकीहरु बताउँछन् । यो जग्गा पूर्वपश्चिम राजमार्गदेखि सात सय मिटर दक्षिणमा मात्र पर्छ । तीन लाखमा डुबेको नेपालको घरजग्गा अहिले करिब ढेड करोडको भएको छ । नेपाल परिवारको आयस्रोत नै आठ कठ्ठा जग्गा हो ।

नेपाल परिवारले खड्ग बहादुरसँग गरेको कागजले दराज भरिएको छ । कागजमा साक्षी बसेकाहरु सबै जीवीतै छन् । तीन लाख ऋण दिएर करोड बढीको जमिन खाइ दिने खड्गबहादुरले अहिले पनि जग्गा फिर्ता गर्दिन त भनेका छैन्न । तर उनले जमिन फिर्ता चाहिँ गरिसकेका छैनन् ।
जग्गा कसरी अर्काको नाममा गयो भन्ने सम्बन्धमा पीडितका आफन्त र छिमेकीहरु पनि आश्चर्यमा परेका थिए ।

कागज गरेर राजीनामा पास गरिदिए । तर, गरिबलाई डुबाउन सबै लागेको उनीहरुको भनाई छ । यता वाइसिएल नेता पुलामीले भने आफूले जग्गा किनेरै लिएको दावी गर्छन् । यो कारोबारको केन्द्रमा रहेका खड्गबहादुर काम्बाङले जालझेल गरेर जमिनअरुको नाममा पुगेको र त्यसमा आफूले केही नजान्ने प्रतिक्रिया दिएका छन् ।

LIVE TV