
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको निर्णय खारेज गरिदिएसँगै यस क्षेत्रमा उपनिर्वाचन हुने निश्चित छ ।
त्यसैलेपनि धेरैको ध्यान र चर्चाको विषय बनेको छ चितवन २ मा हुने उपनिर्वाचन । चितवनमा कहिले हुन्छ त उपनिर्वाचन अनि नागरिकता विवादमा दोषी ठहर भएपश्चात पुनः आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका रवि नै बन्न पाउलान् त उपनिर्वाचनमा उम्मेदवार ?
चितवन २ मा उपनिर्वाचन हुनलाई संसद सचिवालयले त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको जानकारी निर्वाचन आयोगलाई दिनुपर्ने हुन्छ ।
सचिवालयको पत्राचारपछि आयोगले सरकारको परामर्शमा निर्वाचन मिति तोक्ने आयोगका पदाधिकारीको भनाई छ ।
निर्वाचन आयोगले उपनिर्वाचन गराउने तयारी थाल्ने बताइरहँदा यसअघि तत्कालीन नेकपा विघटनको बेला सांसद पद गुमाउन पुगेका प्रभु साह, टोपबहादुर रायमाझी लगायत नेताहरुको हकमा कांग्रेस नेतृत्वको सरकारले उपनिर्वाचन नै गराएन् ।
डेढ वर्ष जति ती क्षेत्र जनप्रतिनिधिबिहीन बन्न पुगेका थिए । यसरी हेर्दा उपनिर्वाचन सरकारले चाहेमा मात्रै हुने अभ्यास देखिन्छ नेपालमा । त्यसैले पनि चितवनमा उपनिर्वाचन हुन्छ वा हुँदैन ?
उपनिर्वाचनको विषयमा सरकार र आयोगले निर्णय गरेपनि सोहि क्षेत्रमा रवि उम्मेदवार बन्न पाउँछन ? यो पनि चासोको विषय हो । यसअघि रविको नागरिकता प्राप्ती कै विषयमा अनेकन टिप्पणी भएका थिए ।
अधिवक्ता त्रिपाठीमात्रै होइन अन्य अधिवक्ताहरुले समेत नागरिकता प्राप्तमा केही उल्झन आउन सक्नेतर्फ संकेत गरेका थिए । तर, आईतबार रविले नागरिकता प्राप्त गरिसकेका छन् । नागरिकता सम्बन्धि कानूनका प्रक्रिया पुरा गरेर रविले पुनः नागरिकता प्राप्त गरेसँगै अब उनी चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सहभागी हुन सक्नेछन् । तर, यहाँ उनको उम्मेदवारीसँग जोडिन सक्ने अर्को पाटो पनि छ ।
यदि यो बीचमा उनीमाथि अन्य कुनै कसुरमा कारबाही नभएमात्रै उनी उम्मेदवार बन्न पाउने छन् ।
आफु नेपाली नागरिक हुँ भन्दै यस पहिले सांसद बनेको र सरकारमा सहभागी भएको साथै राज्यको संवेदनशिल क्षेत्रका सूचना प्राप्त गरेको भन्दै उनी विरुद्ध केही विरोधका आवाज उठिरहेकाले पनि यो विषय पेचिलो हुन्छ कि भन्ने आशंका बढ्दो छ ।
यस्तो अवस्थामा राहदानीलगाएत अन्य कसुरमा उनीमाथि मुद्दा चलेर कारबाही अगाडि बढ्यो भने उनी उपनिर्वाचनमा उम्मेदवार बन्ने बाटो रोकिने देखिन्छ ।