१५ माघ २०७९, आईतवार
  • रितिक अधिकारी

सर्लाही । सर्लाहीको बागमतीमा हुने मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिता ‘सातौँ राजर्षी जनक कप’ माघ २५ बाट हुने भएको छ ।

सातौँ संस्करणमा ए डिभिजन लिगका ६ वटा,मोफसलका ४ वटा, एउटा विदेशी र आयोजक गरि १२ वटा टिमको सहभागिता हुने भएको छ ।

बागमती नगरपालिका ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा माघ २५ गतेबाट फागुन ६ गतेसम्म सञ्चालन हुने ‘सातौँ राजर्षी जनक कप’ फुटवल प्रतियोगितामा ए डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लव काठमाडौं, चर्च ब्याईज युनाइटेड ललितपुर, शंकटा क्लब काठमाडौं, जावलाखेल युवा क्लव ललितपुर, नेपाल पुलिस क्लव काठमाडौं र सशस्त्र प्रहरी क्लव काठमाडौं गरि ६ वटा टिम रहेका छन् । यस्तै, मोफसलका फुटबल क्लबहरुतर्फ सुदुरपश्चिम ११, धरान फुटबल क्लब, पिप्ले युवा क्लव, नवजन जागृति युवा क्लव, रहेका छन् ।

त्यस्तै युनाइटेड किङ्डम फुटबल क्लब भारत (विदेशी क्लव) हो भने आयोजक बागमती युवा क्लव सी डिभिजन लिगको क्लब सहभागिता रहने आयोजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिए।
माघ २५ गतेबाट सुरु हुने सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगीता फागुन ६ गते सम्म स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन हुने आइततबार भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

बागमती नगरपालिकाको आयोजनामा हरेक वर्ष हुने मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार १० लाख,दोस्रो पुस्कार पाँच लाख,सर्वोत्कृष्ट सर्लाहीका एकजना खेलाडीलाई एकथान पल्सर मोटरसाईकल, सर्वोत्कृष्ट एकजना खेलाडीलाई ५१ हजार नगद् पुरस्कार प्रदान गरिने आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।

उनका अनुसार छैँटौँ राजर्षी जनक कपको उपाधि हेटौंडाको पिप्ले युवा क्लवले जितेको थियो। छैँटौँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब काठमाडौं, नेपाल आइस हिमालयन शेर्पा क्लब काठमाडौं, पिप्ले युवा क्लब हेटौडा, आयोजक बागमती युवा क्लब सर्लाही, के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन, न्यूरोड टिम (एन.आर.टी) काठमाडौं, नव जागृती फुटबल क्लब सिमरा, नेपाल पुलिस क्लब काठमाडौं, सुदुरपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लब काठमाडौं, एभेनिर फुटबल क्लब क्यामरुन, सशस्त्र प्रहरी क्लब (ए.पी.एफ.) काठमाडौंको सहभागिता रहेको थियो ।

प्रतियोगीताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिनुभयो। हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ । त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइकल र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक युवा क्लबका महासचिव सागर मैनालीका अनुसार प्रतियोगिता संचालन गर्न रु ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

यस वर्ष आयोजक बागमती युवा क्लब सि डिभिजन लिगमा प्रवेश गरेका कारण यस वर्षको उपाधि आयोजकले नै राख्ने अनुमान गरिएको आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए।

LIVE TV