१५ माघ २०७९, आईतवार

काठमाडौं । आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग भएको पाइएको छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ३ लाख ४२ हजार मेट्रिक टन उत्पादन बढाउन सके नेपाल आलुमा आत्मनिर्भर बन्न सक्छ ।

केन्द्रका अनुसार नेपालमा अहिले १ लाख ९८ हजार ७ सय हेक्टर जमीनमा गरिएको खेतीबाट वार्षिक ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन हुन्छ ।

बजार माग ३६ लाख ६७ हजार २ सय ५६ मेट्रिक टन छ ।

यस हिसाबले ३ लाख ४२ हजार टन अपुग देखिन्छ । नपुग आलु भारतलगायत मुलुकबाट आयात भइरहेको छ ।

केन्द्रका प्रमुख वासुदेव काफ्लेका अनुसार अहिले आलुको उत्पादकत्व १६ दशमलव शून्य ५ मेट्रिक टन प्रतिहेक्टर छ । आलुमा आत्मनिर्भर हुन खेती गरिने क्षेत्रफल २० हजार ४ सय हेक्टरले विस्तार गर्नुपर्ने र अहिलेको उत्पादकत्वको अवस्थामा समेत वृद्धि गरी १८ दशमलव ४४ मेट्रिक टन प्रतिहेक्टर पुर्‍याउनुपर्ने उनले बताए ।

सबै भूगोल र सबै मौसममा उत्पादन गर्न सकिने तथा नेपालको प्रमुख तरकारी बालीको रुपमा रहेको आलुले कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ९६ प्रतिशत योगदान गरेको छ । नेपालमा वार्षिक प्रतिव्यक्ति आलु उपभोग १ सय ११ दशमलव ८ किलो छ ।

उच्च पहाडमा १८ प्रतिशत, मध्यपहाडमा ४२ प्रतिशत र तराईमा ४० प्रतिशत आलु उत्पादन हुन्छ ।

प्रदेशगत हिसाबले प्रदेश नं १ मा सबैभन्दा बढी ३० प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत जमीनमा आलु उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

LIVE TV