१३ माघ २०७९, शुक्रबार
  • कर्ण दयाल ‘सोराडी’

।१।
हजारौं हजार चोट, हण्डर र ठक्कर खाएर
देश र विदेशका उकाली-ओरालीहरु धाएर
सरकार ! मेरो देशको एउटा युवाले किन-
आत्मदाह गर्छ तिम्रै आँखा अगाडि आएर ?
।२।
कर्म गर्नेहरु दलालको फन्दामा परेपछि
जिउनु न मर्नुको स्थिति सिर्जना गरेपछि
मान्छेको मृत्यु पनि मूल्यहीन हुँदो रहेछ
बाँच्ने सम्भावना र बाटाहरु सबै टरेपछि
।३।
तिम्रो सुरक्षाले मान्छे मार्छ बरु बचाउन सक्दैन,
मान्छे जलिरहेको छ ऊ नजिक आउन सक्दैन
त्यसैले ‘प्रेमको आत्मदाह’ होइन हत्या हो भन्दा-
स्वीकार गर्नुपर्छ सरकारले छुट पाउन सक्दैन ।
।४।
गरिखाने मान्छेहरुलाई मरिजाने बनाउँदै छन्
दलाली गर्ने मान्छेहरुले यो देश गन्हाउँदै छन्
देश हाँक्ने शासक भने संसद भवन छिरेपछि
एकले अर्काको टाउकोमा दोष खन्याउँदै छन ।
।५।
तिम्रो चित्कारभित्र सारा युवाको पीडा बोलेको थियो
तिमी जलिरहँदा संसद भवनले आँखा खोलेको थियो
तिमीलाई श्रद्धान्जली छ ‘प्रेम’ बाटो अर्कै थियो तर पनि
तिम्रो त्यो साहस जुन दलालले ऋणमा तोलेको थियो ।

मेलौली नगरपालिका- ७, बैतडी

LIVE TV