१२ माघ २०७९, बिहीबार

काठमाडौं । मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दाको मौका छोपेर इलामका ३६ बर्षीय प्रेम प्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।

उनको आज उपचारको क्रममा अस्पतालमा निधन भयो । उनको ऋण तिर्न, परिवारलाई सघाउन सहानुभूतिसँगै पैसा पनि उठाइदैछ ।

प्रेम आचार्यप्रति सहानुभुति र राज्यव्यवस्था माथि आक्रोशको लहर नै चलेको छ । मोटो तवरमा उनले जे गरे ठिक गरे, बहादुरी गरे भन्ने प्रकारको भाष्य निर्माण हुने जोखिम देखिएको छ ।

विस्तारमा पछि जाउँला तर अहिले नै भनिहालौं कि आत्मदाह कुनै पनि बहानामा होस् त्यो बहादुरी होइन ।

प्रेमले भोगेको पीडामा सहानुभुति मात्रै होइन, आक्रोश पनि जायज छ, विद्रोह पनि स्वीकार्य छ, आन्दोलन पनि बाञ्छनीय छ तर आत्महत्या, आत्मदाह रोज्नु ठिक हुँदै होइन, त्यो स्वीकार्न, त्यसलाई बढावा दिन, स्याबास भन्न सभ्य समाज उत्रिनु गलत हुन्छ । त्यसमा सावधान बनौं ।

प्रधानमन्त्री सवार गाडी कुरेर, दौडेर नजिकै गएर उनले आफ्नो शरीरमा आगो सल्काएको सिसी टिभि फुटेजले देखाउँछ ।

प्रेम जल्दै गरेको प्रधानमन्त्रीले देखे या देखेनन् यकिन छैन, तर उनको स्कर्टिङमा रहेका सुरक्षाकर्मीले आत्मदाहको त्यो दृश्य पक्कै देखेका थिए । तर गाडीहरु रोकिएनन् ।

कारगेटमा सहभागी सुरक्षाकर्मी बचाउमा उत्रिएनन् । उच्च पदस्थको सवारी प्रोटोकल अनुसार अचानक सवारी रोक्न वा अगुवा पछुवा गाडीहरु स्वेच्छाले छुट्टिन नमिल्ने व्यवस्था रहेको दलिल प्रस्तुत गर्दै गारगेटमा संलग्न सुरक्षा टिमबाट जल्दै गरेका प्रेमलाई जोगाउन प्रयास नहुनुलाई स्वाभाविक मान्नु पर्ने दावी आइरहेका छन् ।

भिआईपी प्रोटोकल माथि कि मानवीयता ? यो बहसयोग्य विषय नै होइन । मानवीयताका अगाडि प्रोटोकल फगत मूल्यहीन मामला हो । कुनै तर्क, कुनै दलिलले यसमा काम गर्दैन ।

(भिडियो)

LIVE TV