११ माघ २०७९, बुधबार

काठमाडौं । हत्या अभियोगमा थुनामा परेर छुटेका फेरि थुनामै राख्न आदेश भएका एक सांसद पक्राउ पर्ने सम्भावना थियो । उनी काठमाडौंमै थिए । सांसदको शपथ लिने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन पनि उनी संसद भवन प्रवेश गरे । फरार अभियुक्त संसद भवन प्रवेश गरेको तर पक्राउ नपरेको विषयमा प्रश्न उठेको भोलिपल्टै गृहमन्त्रीले भने – फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिइ सकेको छु । गृहमन्त्रीले नै पक्राउ गर्न निर्देशन दिएको खबर सांसद महतोले थाहा नपाउने कुरै भएन । गृहमन्त्रीको त्यो अभिव्यक्तिले महतोलाई भाग्नू भन्ने संकेत ग¥यो । नभन्दै उनी फरार भए । अहिले फेरि गृहमन्त्रालय आफैं भनिरहेको छ – प्रहरीले अभियुक्त पक्रेन । हामीलाई प्रहरीले टेरेन । तथ्य के हो त ?

सशस्त्र प्रहरीका असई थमन विक हत्यामा मुछिएका सांसद लक्ष्मी महतो कोइरी पुस २६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद पुगे । पुुस २७ मा गृहमन्त्रीले सार्वजनिक रुपमै सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन दिइ सकेको खुलासा गरे । गृहमन्त्रीको त्यस्तो खुलासाले कानुनको नजरमा फरार सांसदलाई ‘व्यवहारिक रुपमै फरार हुनू’ भन्ने संकेत मिल्यो । गृहमन्त्रीले नै पक्राउ गर्न निर्देशन दिइसकेको सूचना पाएपछि कोइरी सम्पर्कविहीन भए ।
कोइरी सम्पर्कविहीन भएको निश्चित भइसकेपछि गृह मन्त्रालयले माघ ६ गते एक विज्ञप्ति निकाल्दै भन्यो, ‘गृहमन्त्रीज्यूबाट प्रहरीलाई पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म महतो पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

गृहले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीले अटेर गरेको आसय झल्किने गरी जारी गरेको थियो । कुनै आरोपीलाई नियन्त्रणमा लिनु पर्दा त्यस्ता संदीग्धलाई प्रहरीले पक्राउको पूर्वसूचना दिने गर्दैन । नियन्त्रणमा लिनु पर्ने व्यक्ति रहेको स्थानको रेकी गर्ने, गोप्य रुपमा पुग्ने र नियन्त्रणमा लिने विधि प्रहरीको हुन्छ । तर सांसद महतोको केसमा गृहमन्त्रीले सूचना चुहाइदिँदा उनी फरार भए ।

यस विषयमा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल गृहमन्त्री लामिछाने पनि दोषी रहेको बताउँछन् । उनका अनुसार त्यो खेलमा गृहमन्त्री पनि सामेल रहेका छन् ।

उनी भन्छन्, ‘त्यो खेलमा उहाँ पनि सामेल हुनुहुन्छ । प्रहरी वृत्त जसरी बदनाम भइरहेको छ, राजनीतिक वृत्तले मात्र नभइ ठूला पार्टीका व्यक्तिहरु पनि जिम्मेवारी हुनुहुन्छ ।’

२०७७ साल मंसिर १९मा उच्च अदालत जनकपुरले सांसद महतोलाई समेत थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । त्यसयता महतो पक्राउ परेनन्, उल्टो उनी राजनीतिमा बढी सक्रिय भए । वारेसमार्फत प्रतिनिधिसभा सदस्यका रुपमा आफ्नो उम्मेदवारी दर्ता गराए र महोत्तरी १ बाट विजयी पनि भए ।

यसबीच सत्तारुढ राजनीतिक दलका सांसद भएका कारण कोइरी पक्राउ नपरेका हुन् कि ? गृहमन्त्रीले संसदमा आउँदा पनि कोइरीलाई नदेखेर पक्राउ नगरेका हुन् भन्दै नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गरेका थिए । सांसदहरुको प्रश्नको जवाफमा अमूर्त जवाफ दिँदै आएका गृहमन्त्री रवि लामिछानेले मंगलबार संसदमा पनि केही घुमाउरो जवाफ दिए । उनले फरार सांसदको प्रशंग समेत जोडेर बन्द क्रसर उद्योग, अधिकारकर्मीको आन्दोलन आदि विषयमा परिणाम आउने गरी गृहमन्त्रालयले काम गरिरहेको जवाफ दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने गृह मन्त्रालयमा प्रणालीगत सुधारको काम भइरहेको र विगतमा राज्यका संयन्त्र बिगारिएका कारण सुधारका लागि केही समय लाग्ने बताएका छन् । फरार सांसद कोइरी पुस ७ मा पनि सांसदका रुपमा शपथ लिन संसद भवन प्रवेश गरेका थिए । असई विकको हत्यामा २८ व्यक्ति मुछिएका छन् । ती मध्ये केही थुनामा छन् भने केहीलाई अदालतले साधारण तारेखमा छाडेको छ । सांसद महतोलाई चाहिँ जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा छाडेको थियो । जिल्ला अदालत महोत्तरीले पवन कापड, सञ्जय साह, प्रदीप साहलगायतलाई पुर्पक्षकालागि कारागार पठाएको थियो ।

अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतोलगायत जिल्लामा मुद्दा विचाराधीन भएकै अवस्थामा राजनीतिमा सक्रिय भए । यहि बीच अभिराम शर्मा मधेस प्रदेशको अघिल्लो कार्यकालमा सांसद तथा सामाजिक विकास राज्यमन्त्री बने । रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर बने । सुरेश पाण्डे राष्ट्रिय जनता पार्टी नेपालको महासचिव भए । कौशलकुमार यादव पनि मधेस प्रदेशका सांसद बने ।

LIVE TV